राजधानीमा तामाङ गुम्पा छेउ ठूलो पैह्रो, यातायात बन्द
राजधानीमा तामाङ गुम्पा छेउ ठूलो पैह्रो, यातायात बन्द


गान्तोक, 31 जुलाई (हि.स.)। राजधानी गान्तोकमा पाल्जोर स्टेडियम, तामाङ गुम्पा र 90 बजार हुॅंदै सिच्छेस्थित जिल्लापाल कार्यालय (डीसी अफिस) जाने मार्गमा ठूलो पैह्रो गएको छ। अविरल वर्षाका कारण तामाङ गुम्पा र 90 बजार बीचमा गएको पैह्रोले सड़कको ठूलो भाग बगाएको छ। 30 जुलाई बेलुकी गएको पैह्रोले सम्पर्क बाधित बनेको छ भने बिजुलीको ट्रान्सफर्मर र पीएचईको पानीको ट्याङ्कलाई पनि क्षति पुऱ्याएको छ।

उक्त पैह्रोले तल्लो क्षेत्रका वासिन्दाहरू, विशेषगरि एलबी तामाङको बिल्डिङलाई ठूलो खतरा उत्पन्न गरेको जानकारी गान्तोक जिल्ला प्रशासनिक केन्द्रले दिएको छ। गान्तोक जिल्लाका जिल्लापालको अगुवाईमा एक टोलीले घटनास्थलको निरीक्षण गरेर स्थितिको बारेमा जानकारी लिएका छन्। पैह्रोले कसैको ज्यानलाई हानि पुऱ्याएको छैन, तर सार्वजनिक उपयोगिता सेवाहरू प्रभावित बनेका छन्।

प्रभावित एलबी तामाङको परिवारलाई सदर पुलिसको सहायतामा सुरक्षित ठाउॅंमा राखिएको छ। उक्त क्षेत्रलाई दुवै तर्फबाट राम्रोसँग घेराबन्दी गरेर राखिएको छ र स्थितिमाथि निगरानी गर्न पुलिस तैनाथ गरिएको छ।

पैह्रोग्रस्त ठाउॅंहरूलाई तारपोलिनहरूले ढाकेर थप पैह्रो झर्नबाट रोक्ने उपाय गरिएको छ। जिल्ला प्रशासनले वन विभागलाई जोखिमपूर्ण रुखहरू काट्न निर्देश दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande