गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवा विभाग अधीनस्थ नवनियुक्त 32 जना पशुधन सहायकहरू एक वर्षे प्यारा पशु चिकित्सा प्राविधिक प्रशिक्षणको लागि मंगलवार नागाल्याण्ड प्रस्थान भएका छन्। प्रशिक्षण आगामी 01 अगस्त, 2025 देखि शुरू हुनेछ।
पशुपालन तथा पशु चिकित्सा सेवा विभागका मन्त्री पुरण गुरुङले नवनियुक्त पशुधन सहायकहरूलाई देवरालीस्थित राज्य पशु चिकित्सा पोलिक्लिनिकबाट झण्डा हल्लाएर प्रस्थान गराए। यस अवसरमा विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। ग्रामीण सिक्किममा तृणमूल पशु चिकित्सा सेवालाई सुदृढ पार्न र पशु स्वास्थ्य सेवालाई बढावा दिने उद्देश्यले पशुधन सहायकहरूलाई प्रशिक्षणको लागि पठाएको बताइएको छ।
विभागद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यी छनोट भएका प्रशिक्षार्थीहरूले नागाल्याण्डको प्रतिष्ठित पशु चिकित्सा विज्ञान तथा पशुपालन कलेजमा आफ्नो प्राविधिक शिक्षा लिनेछन्। यस पाठ्यक्रम अन्तर्गत नागाल्याण्डको संस्थानमा नौ महिनाको गहन शैक्षिक र व्यावहारिक तालिमपछि विभागका वरिष्ठ पशु चिकित्सकहरू र विषय विज्ञहरूको मार्गदर्शनमा गान्तोकको सोकेथाङस्थित विभागको प्रशिक्षण संस्थानमा तीन महिनाको व्यावहारिक प्रशिक्षण प्रदान गरिने छ।
मन्त्री गुरुङले आफ्नो सम्बोधनमा प्रशिक्षार्थीहरूलाई शुभकामना दिॅंदै आफ्नो प्राविधिक सीप निर्माण गर्न र ग्रामीण पशु चिकित्सा क्षेत्रमा अर्थपूर्ण योगदान पुर्याउन अवसरको अधिकतम सदुपयोग गर्न प्रोत्साहित गरे। उनले पशु स्वास्थ्य सेवा प्रदान गर्न, रोग रोकथाम गर्न र किसानहरूमाझ वैज्ञानिक पशुधन व्यवस्थापन प्रवर्द्धनमा प्रशिक्षित पशुधन सहायकहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारेका थिए।
हिन्दुस्थान समाचार / बिशाल