पासिङदाङमा विशेष आवश्यकता भएका बालबालिकाहरूको पहिचान तथा मुल्याङ्कन शिविर सम्पन्न
पासिङदाङमा विशेष आवश्यकता भएका बालबालिकाहरूको पहिचान तथा मुल्याङ्कन शिविर सम्पन्न


मङ्गन, 30 जुलाई (हि.स.)। मङ्गन जिल्लाको शिक्षा विभागले समग्र शिक्षा गान्तोकको संयोजनमा स्वास्थ्य तथा परिवार कल्याण विभाग, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग अनि सीआरसी सिक्किमसँगको सहकार्यमा विशेष आवश्यकता भएका बालबालिकाहरूको पहिचान तथा मुल्याङ्कन शिविरको पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा औपचारिक शुभारम्भ गरेको छ। राष्ट्रिय शिक्षा नीति (एनइपी) २०२० (अखिल भारतीय शिक्षा सङ्गम)-को ५औँ वर्षगाँठको अवसरमा शिविरको आयोजना गरिएको हो। उक्त जानकारी शिक्षा विभाग, मङ्गन जिल्लाले आज प्रेस वि​ज्ञप्तिमा दिएको छ।

विज्ञप्ति अनुसार, यो सप्ताहव्यापी शिविरको प्रारम्भिक कार्यक्रम आज पासिङदाङ पीएचसीमा सम्पन्न भयो। शिविरको मूल उद्देश्य विशेष आवश्यकता भएका बालबालिकाहरूको स्वास्थ्य मूल्याङ्कन, सहयोग उपकरणहरूको वितरण र समावेशी शिक्षाको प्रवर्द्धन गर्नु रहेको थियो। शिविरले सबै बालबालिकाहरूलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा जिल्ला बाल संरक्षण कार्यालय मङ्गनको बाल सहयोग प्रायोजन र बाल आपतकालीन सेवाहरूले पनि सहयोग गरेका थिए। मङ्गन र पासिङदाङ बीएसी-अन्तर्गतका विशेष आवश्यकता भएका बालबालिकाहरू, उनीहरूका अभिभावक र विशेष शिक्षकहरू सहभागी भएका यस कार्यक्रमबाट पाँच जना बालबालिकालाई दिव्याङ्ग प्रमाणपत्र प्रदान गरियो।

शिविरमा इएनटी, आँखा र मनोरोगका विशेषज्ञहरू क्रमैले डा. रिञ्जिङ छोपेल डाडुल भोटिया, डा. तेञ्जिङ याङ्छेन भोटिया, सोनिला भोटिया, वरिष्ठ एएनएम नोमी लेप्चा अनि आँखा प्रविधिज्ञ टाँसी भोटियाले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए। कार्यक्रमको सम्पूर्ण समन्वय स्वास्थ्य अधिकृत (एमओ), उप निर्देशक तथा नोडल अधिकारी थिन्ले नामग्याल लेप्चा (पासिङदाङ खण्ड विकास केन्द्र), डिकी डोमा लेप्चा (जिल्ला समावेशी समन्वयकर्ता) र उत्तर जिल्लाका विशेष शिक्षकहरूद्वारा गरिएको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande