गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठले आज रानीपुल नजिक सरमसामा 'सुनौलौ, समृद्ध अनि समर्थ सिक्किम निर्माणको निम्ति एक बनौँ' सन्देशका साथ युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजन गऱ्यो। पार्टी अध्यक्ष प्रेमसिंह तामाङ गोलेको निर्देशन अनि युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानको सक्रियतामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा युवा प्रकोष्ठका भावी रणनीति र कार्यक्रमहरू सम्बन्धमा व्यापक चर्चा गरियो। उक्त जानकारी एसकेएम सोशल मिडिया शाखा अध्यक्ष नवीन दाहालले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
पार्टीका सेक्रेटेरी जेनरल अरुण कुमार उप्रेतीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा युवा प्रकोष्ठका उपाध्यक्ष प्रभारी सञ्जीत खरेल, प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू लगायत पार्टीका वरिष्ठ पदाधिकारी अनि प्रत्येक जिल्लाबाट उपस्थित युवा प्रकोष्ठका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रमका मुख्य अतिथि पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले कुनै पनि राजनीतिक पार्टीमा रहेर काम गर्दा कार्यकर्तामा त्यागको भावना हुन आवश्यक पर्ने बताए। विगतको सरकारमा रहेको पार्टीले एसकेएम अध्यक्ष पीएस गोलेविरुद्ध षड्यन्त्रकारी कदम चाल्दा वहाँले पार्टी हितमा गरेको त्यागको सम्झना गरे। मुख्य अतिथिले एसकेएम पार्टीका युवा समर्थकहरूमा निष्ठा र सेवाको भावना हुनु जरुरी रहेको बताए। उनले पार्टी समर्थकहरूलाई अनुशासनमा बस्ने सल्लाह दिँदै पार्टी र नेताले गरेको निर्णयलाई शिरोपर गर्नु नै पार्टीको अनुशासन हो भने।
पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले उपस्थित सम्पूर्ण युवा प्रतिनिधिसँग अन्तरक्रिया गर्दै एसकेएम सरकारद्वारा ल्याइएका विभिन्न ध्वजवाहक कार्यक्रमहरूबारे अवगत गराए। उनले सोशल मीडियामार्फत् पार्टीको प्रचार-प्रसारमाथि कसरी काम गर्ने भन्ने सम्बन्धमा अवगत गराए।
पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एसकेएम पार्टीले प्रारम्भिक कालमा गरेको संघर्षका दिनहरूको सम्झना गर्दै तत्कालीन समय पार्टीका युवाहरूको भूमिकाबारे जानकारी गराए।
यसरी नै युवा प्रकोष्ठको राज्यस्तरीय उपाध्यक्ष सहदेव शर्माले आफ्नो सम्बोधनमा विगतको सरकारकलमा भएका हिंसात्मक क्रियाकलापमाथि विवरण दिँदै एसकेएम सरकारमा आज त्यस्ता हिंसात्मक गतिविधिहरू पूर्ण रूपमा निर्मूल भएर गएको बताए। उनले सरकारका प्रत्येक योजना र कार्यक्रमलाई अब तृणमूलस्तरमा पुऱ्याएर जनजनलाई अवगत गराउन आह्वान गरे।
युवा प्रकोष्ठका संयुक्त सचिव नरेश छेत्रीद्वारा सञ्चालित कार्यक्रममा प्रकोष्ठका महासचिव योगेन राईले प्रकोष्ठको विस्तृत रिपोर्ट प्रस्तुत गरे। पार्टीको सांगठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चाले पार्टीको सांगठनिक गतिविधिलाई दह्रिलो पार्न सम्पूर्ण कार्यकर्ताको साथ र सहयोग हुनु अनिवार्य हुने जनाए। कार्यक्रमलाई मन्त्री एनबी दाहाल, मन्त्री राजु बस्नेत, विधायक आदित्य गोले र इरुङ लेप्चाले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल