बर्खामा खोलियो निकासी व्यवस्थाको पोल, कृष्णानगरका नालीहरू ओभरफ्लो
बर्खामा खोलियो निकासी व्यवस्थाको पोल, कृष्णानगरका नालीहरू ओभरफ्लो


नदिया, 01 अगस्त (हि. स.)। लगातार परिरहेको पानीले गर्दा कृष्णानगरको वार्ड नम्बर-14 का विभिन्न क्षेत्रमा अवस्थित नालीहरू ओभरफ्लो भएका छन् जसबाट फोहोर पानी सड़कमा बगिरहेको छ। जलमग्न सड़कहरू भएर आवागमन गर्न असम्भव भएको छ। नालीहरूमा दुर्गन्धयुक्त पानी तथा फोहोरहरू बगिरहेको कारणले स्थानीय मानिसहरूलाई असहनीय स्थितिको सामना गर्न परिरहेको छ। यसबाट स्थानीय मानिसहरूको स्वास्थ्यमाथि प्रभाव पारिरहेको छ। स्थानीय मानिसहरूले प्रशासनको भूमिकामाथि प्रशन उठाउँदै गहिरो रोष व्यक्त गरेका छन्।प्राप्त जानकारी अनुसार यो समस्या विशेष रूपमा वार्ड नम्बर- 14 को बागड़ी पाड़ा, चुनारी पाड़ा र नलुआ पाड़ा क्षेत्रमा स्पष्ट रूपमा देखिएको छ। सड़कहरूमा दुर्गन्धयुक्त पानी बगिरहेकोले स्कूल-कलेज आउने-जाने विद्यार्थी, स्वास्थ्य जँचाउन जाने रोगीहरू तथा कामकाजी मानिसहरूलाई ओहोर-दोहोर गर्न अत्यधिक कष्ट भइरहेको छ।

नलुआ पाड़ा निवासी तौफीक अहमदले बताए, थोरै तीव्र वर्षामा पनि नालीहरू ओभरफ्लो हुन्छन्। फोहोर पानी सड़कमा जमिन्छ। घरमासम्म पानी पस्छ। घरदेखि बाहिर हिँड़डुल गर्न समस्या हुन्छ। लामखुट्टे र झिँगाको प्रकोप बढ़ेको छ। मलाई लामखुट्टे जनित बिमारीहरू फैलिनसक्ने डर लागिरहेको छ।

स्थानीय मानिसहरूले बताए, सड़कहरूको अवस्था लामो समयदेखिकै जीर्ण रहेको छ भने नालीहरूमा फोहोर पानी बगिरहेकोले मानिसहरूलाई ओहोर-दोहोर गर्नै अप्ठ्यारो भइरहेको छ। पार्षद र नगरपालिकालाई धेरै पटक सूचना दिइएको भए पनि अहिलेसम्म समस्या समाधान हुन सकिरहेको छैन। यी समस्याहरूबाट छुटकारा पाउनको लागि नालीहरूको जीर्णोद्धार एवं जल निकासीको उचित व्यवस्था हुनुपर्छ।

वार्ड नम्बर- 14 की पार्षद शान्ताश्री साहाले भनिन्, नालीको सर-सफाई कहिले-कहिले मात्र गरिन्छ। नालीहरूमा अत्यधिक मात्रामा फोहोरहरू फालिने गरेकोले नाली जाम भएको छ फलस्वरूप पानी सड़कमा बगिरहेको छ। केही स्थानहरूमा समस्या छ जसलाई चाँड़ै समाधान गर्ने प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande