मङ्गन जिल्लामा स्तनपान सप्ताह प्रारम्भ
मङ्गन जिल्लामा स्तनपान सप्ताह प्रारम्भ


- कुपोषित बालिकाको घरमा किचन गार्डन निर्माण

मङ्गन, 01 अगस्त (हि.स.)। मङ्गन जिल्लामा स्तनपान सप्ताह प्रारम्भ भएको छ। अभियानको एक भागस्वरूप टुङ नागा ग्राम पञ्चायत एकाइकी ४ वर्षीय गम्भीर कुपोषित बालिकाको घर पछाडिको आँगनमा आज एउटा किचन गार्डन निर्माण गरिएको छ। बालिकाको तौल हाल १० केजी र उचाइ ८९ सेन्टिमिटर रहेको छ।

पोषण पुनर्स्थापनाका लागि ताजा किसिमका स्थानीय उत्पादन र जैविक तरकारीहरू सहज र नियमित रूपमा उपलब्ध होस् भन्ने उद्देश्यले यसको स्थापना गरिएको हो। ती तरकारीहरूलाई बालिकाका लागि अब दैनिक भोजनमा समावेश गरिनेछ जसले पोषण सुधार र क्रमिक शारीरिक वृद्धि पुनः प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग, मङ्गगन जिल्लाले आईपीआर मङ्गनमार्फत जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिएको छ।

यस कार्यमा आगनवाडी कार्यकर्ताहरू, आईसीडीएस टोली, पोषण निरीक्षकहरू र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। अभियानले समुदायमा साझा जिम्मेवारी र सशक्तिकरणको भावना उत्पन्न गराएको छ। टोलीले पोषण चेतना अभिवृद्धि सत्रहरू पनि सञ्चालन गरेको थियो जसमा स्तनपानको महत्त्व, पूरक आहार, वृद्धिको निगरानी, सरसफाइ अभ्यास, हात धुने तरिका र पोषणसम्बन्धी जानकारीहरूमा जोड दिइएको थियो।

यो पहल २०२५ को विषयवस्तुलाई प्रत्यक्ष रूपमा प्रतिविम्बित गर्ने अनि स्तनपान शिक्षालाई मात्र नभई दीर्घकालीन र दिगो समर्थन प्रणालीहरू निर्माण गर्ने दिशामा केन्द्रित रहेको छ। यसमा परिवार र स्थानीय समुदायको व्यापक सहभागिता सुनिश्चित गरिएको छ। यसले कुपोषण विरुद्धको सङ्घर्षमा अन्य घरपरिवारहरूलाई पनि उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande