मङ्गन, 01 अगस्त (हि.स.)। वन तथा पर्यावरण विभाग, सिक्किम सरकार अधीनस्थ मङ्गन आञ्चलिक प्रभाग (टेरिटोरियल डिभिजन) ले आज जिल्लास्तरीय समन्वय सभा मङ्गनस्थित जिल्ला भवनमा आयोजना गर्यो। उक्त जानकारी आज आईपीआर मङ्गनले दिएको छ।
मुख्य वन संरक्षक (आञ्चलिक) कर्मा लेग्से र विभागका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सभा सम्पन्न भयो। स्थलगत तहका कर्मचारी र अधिकारीहरूबीच सशक्त संवाद स्थापित गरी विभागीय कार्यक्रमहरू सहज रूपमा कार्यान्वयन गर्दै जिल्लाभरि वन प्रशासनलाई मजबुत बनाउनु सभाको मुख्य उद्देश्य रहेको थियो।
विभागका वर्दीधारी कर्मचारीहरूको अनुशासित र औपचारिक उपस्थितिपछि अधिकारीहरूलाई सम्मानपूर्वक स्वागत गर्दै गरिमामय परिवेशबाट प्रारम्भ भएको सभामा मङ्गनका प्रभागीय वन अधिकारी (आञ्चलिक) मञ्जिल खरेलले स्वागत मन्तव्य प्रस्तुत गरे। उनले जिल्लास्तरको समन्वयले वन प्रशासन सुदृढ पार्न, समयमै कार्य कार्यान्वयन गर्नका साथै विभागभित्र एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वहन गर्ने कुरामा जोड दिए।
वन संरक्षक (आञ्चलिक) सोनाम छोडेन भोटियाले मुख्य सम्बोधन राख्दै ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रमबारे विस्तृत चर्चा गरिन्। उनले उक्त अभियानको विगत तीन वर्षको यात्रा, चुनौती र प्रगतिको समीक्षा गर्न यो उपयुक्त समय रहेको बताइन्। यो अभियान केवल वृक्षारोपणसम्म सीमित नभई वनसँगको सम्बन्ध निर्माण गर्ने अनि निजत्वको भावना विकास गर्ने र समयमै तथ्य सङ्कलन तथा प्रतिवेदनमार्फत पारदर्शिता कायम राख्ने संस्कार निर्माण गर्ने अभियान रहेको कुरामा जोड दिइन्।
साथै, मुख्यमन्त्रीको वनप्रति सामुदायिक सहभागिताको दृष्टिकोणलाई प्रस्तुत गर्दै प्रत्येक नागरिकले हरियाली धरोहर संरक्षण तथा सम्वर्द्धनमा विभागसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन्।
सामाजिक वन तथा ‘मेरो बाटो मेरो बोट’ की नोडल अधिकारी रजनी भण्डारीले मुख्यमन्त्रीको सडक सौन्दर्यीकरण अभियानको महत्त्वबारे आफ्नो सम्बोधनमा बताइन्। वन केवल वन्य क्षेत्रभित्र सीमित हुँदैन तर कार्यालय र सडक किनाराहरूलाई पनि हामीले प्रवर्द्धन गर्ने सौन्दर्य र पारिस्थितिक मूल्यलाई प्रतिबिम्बित गर्नुपर्नेछ-उनले भनिन्। 'मेरो बाटो, मेरो बोट' केवल बोटबिरुवा रोप्ने नभएर गर्व र जिम्मेवारी रोप्ने कार्यक्रम पनि हो भन्दै उनले सडक तथा पुल विभागसँग सहकार्य अनि प्राविधिक टोलीबाट जनचेतना अभिवृद्धि र नियमित अनुगमनमा सहयोगका लागि आग्रह गरिन्।
योजना तथा तथ्याङ्क शाखाका संयुक्त निर्देशक तथा ‘एक पेड़ माँ के नाम’-की राज्य नोडल अधिकारी कर्मा छोडेन भोटियाले वृक्षारोपण अभियानमा सुचिन्तित योजना आवश्यक रहेको कुरामा जोड दिए। उनले प्रधानमन्त्रीको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय अभियान 'एक पेड माँ के नाम' अन्तर्गत स्थल चयन र प्रजाति छनौटमा स्थानीय अवस्थालाई केन्द्रमा राख्नुपर्ने बताए। अघिल्लो वर्षको अनुभवले यो वर्षलाई अझ प्रभावकारी बनाउने मार्गदर्शन दिनुपर्ने उनको भनाइ थियो।
यसपछि, सभाको अन्तरक्रियात्मक सत्रमा फिल्ड अधिकारी, वन संरक्षक अनि क्षेत्रीय कर्मचारीहरूले आफ्ना अनुभव, समस्याहरू र व्यवहारिक सुझाउहरू साझा गरे। वरिष्ठ अधिकारीहरूले सक्रियतापूर्वक सहभागी भई सबैका कुरा सुन्ने र छलफलमा सहभागी हुने परिवेश कायम गरेका थिए।
बैठकको समापन सम्बोधन मुख्य वन संरक्षक (आञ्चलिक) कर्मा लेग्सेले गरे। उनले वन तथा वातावरण विभागका सचिवको तर्फबाट मङ्गन जिल्लाभित्र कार्यरत सबै तहका कर्मचारीहरूको समर्पण र परिश्रमप्रति आभार व्यक्त गरे। लेग्शेले प्रमुख कार्यक्रमहरू जस्तै वन पूर्वाधार विकास, तथ्य आधारित व्यवस्थापन र 'मेरो रुख, मेरो सन्तति' जस्ता अभियानको सफलताका लागि पूर्ण समर्पण र सामूहिक स्वामित्व अनिवार्य रहेको कुरामा जोड दिए।
वृक्षारोपण केवल रोप्ने मात्र होइन तर राज्य तथा राष्ट्रिय स्तरमा पहिचान प्राप्त गर्ने उद्देश्य राखिएको अवस्थामा यसको वास्तविक मूल्य निरन्तर हेरचाह, सूचना अभिलेख तथा प्रभावकारी प्रस्तुतीकरणमा निहित हुने पनि बताए। उनले अन्तरक्रिया सत्रमा उठाइएका विभिन्न प्रश्न र जिज्ञासाहरूमा समेत समय निकालेर प्रशासनिक समझ र जमिनीस्तरको अनुभवलाई प्रतिविम्बित गर्ने किसिमले स्पष्ट र व्यवहारिक उत्तर दिए।
अन्तमा उनले सबै तहका कर्मचारीलाई समन्वयपूर्वक कार्य गर्न आग्रह गरे। एकीकृत प्रयासमार्फत मात्र हामी विभागीय लक्ष्यहरू प्राप्त गर्न र राज्यको वातावरणीय दृष्टिकोणलाई साकार बनाउन सक्नेछौँ - उनले भने।
कार्यक्रम पश्चात सहभागीहरूलाई विभिन्न वृक्षारोपण स्थलहरूको अवलोकन भ्रमणमा लगिएको थियो। भ्रमणमा प्रभावकारी वृक्षारोपण प्रविधि, स्थल चयन र निगरानीहरूबारे व्यावहारिक प्रदर्शन गरियो।
भ्रमणमा फेन्सोङ (मेरो रुख मेरो सन्तति र एक पेड़ माँ के नाम), रिङ्हिम गुम्पा सडक (मेरो बाटो मेरो बोट) र सिङ्हिक (मेरो रुख मेरो सन्ततिअन्तर्गत वृक्षारोपण स्थल) जस्ता परियोजना क्षेत्रहरू समावेश थिए। यो भ्रमणले जिल्लामा सञ्चालित प्रमुख कार्यक्रमहरूको प्रगति बुझ्नमा महत्त्वपूर्ण भूमिका निर्वहन गरेको थियो।
कार्यक्रममा वातावरण तथा भूमि संरक्षण प्रभागका डीएफओ छितेन डब्ल्यू लाचुङ्पा, सामाजिक वन प्रभागका डीएफओ पेम्पा डाडुल लाचेन्पा, एसीएफहरू, रेन्ज अधिकारीहरू र विभिन्न उप-प्रभागहरूबाट प्रमुख वन संरक्षक लगायत विभागका अग्रपङ्तिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल