- डुवर्सका मूर्तिकार अमिर सुन्दासलाई 'कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार'
गान्तोक, 01 अगस्त (हि.स.)। नेपाली साहित्य परिषद (नेसाप) सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई 'राज्य रत्न' ले सम्मानित गर्ने घोषणा गरेको छ। आगामी 20 अगस्त 34औं भाषा मान्यता दिवसको अवसरमा परिषदले मुख्यमन्त्रीलाई 'राज्य रत्न' ले सम्मानित गर्नेछ। परिषदका अध्यक्ष हरि ढुङ्गेलले आज राजधानीको विकास क्षेत्रस्थित परिषद भवनमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरे।
अध्यक्ष ढुङ्गेलले नेसाप सिक्किमलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै कुराहरूमा टेवा दिने काम गरिरहेको बताए। मुख्यमन्त्रीले 20 अगस्तलाई सरकारी छुट्टी घोषणा गरिदिएपछि यो महोत्सव मनाउन छुट्टी पाइरहेको उनले बताए। यसरी नै गत वर्षदेखि सरकारी अधिसूचनाहरू अङ्ग्रेजी भाषाका साथै नेपाली भाषामा पनि जारी गरिने मुख्यमन्त्रीले घोषणा गरिसकेको उनले अवगत गराए। यस कारण नेसाप सिक्किमले यसपाली मुख्यमन्त्रीलाई 'राज्य रत्न' ले सम्मानित गर्ने निर्णय लिएको उनले जानकारी गराए।
यसैगरी, अध्यक्ष ढुङ्गेलले भाषा मान्यता दिवसको अवसरमा डुवर्स- बाग्राकोट निवासी अमिर सुन्दासलाई 'कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार' ले सम्मानित गरिने जानकारी गराए। उक्त पुरस्कार चित्रकार/मूर्तिकारलाई प्रदान गरिॅंदै आएको उनले जनाए। यसरी नै सिक्किम विश्वविद्यालयमा नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने एक विद्यार्थीलाई 'प्रेमलाल स्मृति पुरस्कार' ले पुरस्कृत गरिने उनले जानकारी गराए।
यस अतिरिक्त, अध्यक्ष ढुङ्गेलले सिक्किमका एक वरिष्ठ साहित्यकार पद्मश्रीले सम्मानित सानु लामाको निधन भएकाले यसपाली 211औं भानु जयन्ती सामान्यरूपमा पालन गरेको स्मरण गराए। उनले भानु जयन्तीमा पालन गरिने भानु पुरस्कार लगायत सेवा श्री सम्मान र भाषा गौरव सम्मानहरू पनि स्थगित गर्दै उक्त पुरस्कारहरू भाषा मान्यता दिवसको अवसरमा प्रदान गर्ने परिषदले अगावै जनाइसकेको बताए।
उनले पूर्व घोषणा अनुरुप भानु जयन्तीमा प्रदान गरिने पुरस्कारहरू यसै भाषा मान्यता दिवसमा प्रदान गरिने बताए। उनले जानकारी गराए अनुसार, वरिष्ठ साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कारले अभिनन्दित गरिने छ। परिषदले वर्षेनी प्रदान गर्दै आएको भाषा गौरव सम्मानले लेप्चा भाषामा पुष्प छोडेन थोमस लेप्चा र भोटिया भाषामा हिस्से रिन्जिङ भोटियालाई सम्मानित गरिने छ।
यसै क्रममा भाषा सेवा श्री सम्मानले अबि नारायण मिश्र र चन्द्र राईलाई सम्मानित गरिने छ। यसरी नै साहित्य सेवा श्री सम्मानले वाङ्गदी छिरिङ लामा, नाट्य सेवा श्री सम्मानले पुष्पराज अधिकारी, सङ्गीत सेवा श्री सम्मानले सीबी गुरुङ, पत्रकारिता सेवा श्री सम्मानले डिल्लीराम दुलाल र नृत्य सेवा श्री सम्मानले किरण लामालाई सम्मानित गरिने छ।
उनले भानु जयन्ती समारोह अन्तर्गत आयोजित रामायण पाठ प्रतियोगिता, कविता प्रतियोगिता र अन्तर विद्यालय नृत्य प्रतियोगिताका विजेताहरूलाई पनि भाषा मान्यता दिवसकै अवसरमा पुरस्कृत गरिने जानकारी गराए। अध्यक्ष ढुङ्गेलले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्ट, दोकान आदि प्रतिष्ठानहरूमा लगाइने सूचनापटहरू अङ्ग्रेजी भाषाका साथै नेपाली भाषामा पनि लगाइदिन आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल