- मुख्यमन्त्रीले सबै जिल्लाहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे
गान्तोक, 01 अगस्त (हि.स.)। राजधानीको चिन्तन भवनमा आज नीति आयोग आकांक्षी जिल्ला र आकांक्षी ब्लक कार्यक्रम अन्तर्गत राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह आयोजन गरियो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
उक्त कार्यक्रम नीति आयोगद्वारा 4 जुलाई, 2024 मा शुरु गरिएको राष्ट्रव्यापी सम्पूर्णता अभियानको समापनको प्रतीक थियो। सिक्किममा सम्पूर्णता अभियान आकांक्षी जिल्ला सोरेङ र तीनवटा आकांक्षी ब्लक नाम्ची जिल्लाको नाम्ची ब्लक, सोरेङ जिल्लाको चुम्बुङ ब्लक र गेजिङ जिल्लाको चोङराङ ब्लकमा कार्यान्वयन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एउटा आकांक्षी जिल्लाभन्दा अगाडि हेर्नुपर्ने र राज्यका सबै छ जिल्लाहरूले प्रमुख कार्यसम्पादन सूचकहरू (केपीआई) मा सन्तृप्ति हासिल गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्ने कुरा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए। केन्द्र सरकारले आकांक्षी जिल्ला तथा ब्लक कार्यक्रम अन्तर्गत कार्यसम्पादन, स्पष्ट लक्ष्य र समयसीमा निर्धारण गरी रकम बाँडफाँड गर्छ भन्दै उनले यी सन्तृप्ति लक्ष्यहरू हासिल गर्न नसकेको खण्डमा कोष फिर्ता हुन सक्ने सजग गराए। यस कारण तृणमूल स्तरमा लक्षित कार्यान्वयन महत्वपूर्ण रहेको उनले बताए।
मुख्यमन्त्रीले टीम वर्कद्वारा सन्तृप्ति हासिल गर्न सकिने जनाए जुन अग्रपंक्तिका कर्मचारीहरूको प्रतिबद्धता र सम्बद्ध विभागहरूको संयुक्त प्रयासमा निर्भर गर्दछ भनी बताए। उनले सिक्किममा पर्याप्त जनशक्ति रहेको तथा समयमै र सफल कार्यान्वयन प्रभावकारी जनशक्ति व्यवस्थापनमा निर्भर गर्दछ भनी औंल्याए। सोरेङ मात्र आकांक्षी जिल्ला हो भनेर अन्य जिल्लाहरू सन्तुष्ट हुनु नहुने बताउॅंदै उनले सबै जिल्लाहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे। उनले प्रत्येक जिल्लाले थप प्रयासहरू गरेर आफ्ना समस्याहरूलाई सम्बोधन गर्दै समग्र प्रगतिको लागि प्रयास गर्नुपर्छ भनी बताए।
मुख्यमन्त्रीले विकासको बद्लिॅंदो आवश्यकताहरूबीच प्रत्यक्ष प्रगतिको लागि व्यवस्थित मार्गचित्र विकसित गर्न आग्रह गरे। उनले इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) को स्थापना यसै सन्दर्भमा एकीकृत विकास योजनालाई प्रवर्द्धन गर्न र रणनीतिक मार्गदर्शन प्रदान गर्न गरिएको जानकारी गराए। यस अतिरिक्त, उनले राज्यका कम उपयोग गरिएका पूर्वाधारहरूतिर ध्यान आकर्षित गर्दै यस्तो तंत्र विकसित गर्नुपर्ने आवश्यकतामा बल दिए, जसले अगावै अवस्थित संसाधनहरूको सर्वोत्तम सम्भव उपयोग सुनिश्चित गर्नेछ।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा राज्यमा बढ्दो आत्महत्याका घटनातिर पनि सबैको ध्यान आकर्षित गराए भने अनलाइन गेमिङ पनि बढ्दो समस्या रहेको बताए। कार्यक्रमलाई मुख्य सचिव आर. तेलाङले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल