कुनै पनि क्रान्ति आमाको प्रेम, प्रार्थना र साहस बिना सम्भव छैन: मुख्यमन्त्री तामाङ
आमा सम्मान दिवस


'जब हामी हाम्रा आमाहरूलाई सशक्त बनाउँछौं, हामी सिक्किमलाई सशक्त बनाउँछौं'

गान्तोक, 10 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएमको शासनले आमाहरूलाई सधैं सम्मान र सशक्त बनाउनेछ भनी पुन: पुष्टि गरेका छन्। उनले जब हामी हाम्रा आमाहरूलाई सशक्त बनाउँछौं, हामी सिक्किमलाई सशक्त बनाउँछौं भनेका छन्। मुख्यमन्त्री तामाङले आज प्रथम आमा सम्मान दिवसको अवसरमा सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा उक्त कुराको जानकारी गराएका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा आफू जेलबाट छुटेको दिन स्मरण गर्दै भने, सात वर्षअघि, 10 अगस्त मेरो व्यक्तिगत स्वतन्त्रताको दिन थियो, जुन दिन मलाई अन्यायपूर्ण रूपमा थुनामा राखेर रिहा गरिएको थियो, तर अहिले यसको अर्थ धेरै ठूलो छ। आज आमा सम्मान दिवस हो- सिक्किमको वास्तविक शक्ति, हाम्रा आमाहरूको उत्सव मनाउने दिन।

मुख्यमन्त्रीले भने, 'जब मलाई अन्यायपूर्वक घरबाट टाडा राखियो, मेरो विचार सधैं एक व्यक्ति, मेरी आमामा फर्कन्थ्यो। उनको मौन पीडा, उनको अनिद्राका रातहरू, र ममाथिको उनको अटल विश्वास। उनको विश्वास मेरो ढाल बन्यो। यसले मलाई एउटा महत्त्वपूर्ण कुरा महसुस गरायो, कि राजनीतिमा कुनै विजय, सरकारमा परिवर्तन, कुनै पनि क्रान्ति आमाको प्रेम, प्रार्थना र साहस बिना सम्भव छैन।'

मुख्यमन्त्रीले जन उन्मुक्ति दिवसलाई आमा सम्मान दिवसको रूपमा समर्पित गर्ने निर्णय गरेको बताउॅंदै जुन दिनलाई पहिले उनको स्वतन्त्रताको दिनको रूपमा सम्झिन्थ्यो, त्यो अब आमाहरूलाई सम्मान गर्ने दिनको रूपमा सधैंभरि सम्झिनेछ भनी खुशी व्यक्त गरेका छन्। उनले आमाको विरासत कुनै पनि सिंहासन, उपाधि वा उपलब्धि भन्दा ठूलो हुन्छ र यो अमूल्य, कालातीत र समाजले मनाउन सक्ने सबैभन्दा ठूलो विरासत हो भनी उल्लेख गरेका छन्।

उनले मुख्यमन्त्रीको रूपमा एसकेएमको शासनले आमाहरूलाई सधैं सम्मान र सशक्त बनाउनेछ भनी पुन: पुष्टि गरेका छन्। 'चाहे त्यो आमा सशक्तिकरण योजना मार्फत आर्थिक सहयोग होस्, स्तनपानको पोडको साथ सार्वजनिक स्थलहरूमा सम्मान होस्, वा नेतृत्व र उद्यमशीलतामा अवसरहरू होस्, हामीले चाल्ने हरेक कदम एउटै सत्यमा आधारित छ, जब हामी हाम्रा आमाहरूलाई सशक्त बनाउँछौं, हामी सिक्किमलाई सशक्त बनाउँछौं', उनले भनेका छन्।

मुख्यमन्त्रीले यो दिन आफ्नो लागि नितान्त व्यक्तिगत रहेको बताउॅंदै यो आफ्नी आमालाई र सिक्किमभरि हरेक घरमा रहेका आमालाई धन्यवाद दिने आफ्नो तरिका रहेको बताएका छन्। उनले आमाहरूको माया हाम्रो जग हो र आमाहरूको शक्ति नै हाम्रो भविष्य हो भनेका छन्। उनले भने, 'आमा सम्मान दिवस एक उत्सव भन्दा बढी एक वाचा हो। सिक्किम सधैं आफ्ना आमाहरूको लागि उभिनेछ भन्ने वाचा, जसरी उनीहरू सधैं हाम्रो लागि उभिन्छन्।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande