गान्तोक, 10 अगस्त (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा जारी छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको तेस्रो क्वार्टर फाइनल खेल आज असम राइफल्स, शिलङ र ब्रदरवुड एफसी, सिक्किमबीच सम्पन्न भयो। यस खेलमा असम राइफल्स, शिलङले प्रतिद्वन्दी दललाई टाई-ब्रेकरमा पराजित गऱ्यो। निर्धारित 90 मिनटको खेल एक-एक गोलको बराबरीमा समाप्त भएको थियो।
असम राइफल्स, शिलङ र ब्रदरवुड एफसी, सिक्किमबीच आज खेलिएको तेस्रो क्वार्टर फाइनल खेल अति नै रोचक रह्यो। खेलभरि दुवै दलले एक-अर्कामाथि दबाउ बनाइरह्यो। कुनै पनि दल अर्कोभन्दा कम थिएन। दुवै दलका खेलाडीहरूले गोल गर्ने अवसरहरू पनि गुमाएका थिए। असम राइफल्स, शिलङले पेनल्टीको अवसर पाएको थियो, तर त्यसलाई गोलमा परिणत गर्न सकेन।
म्याचको पहिलो गोल ब्रदरवुड एफसी सिक्किमको तर्फबाट सुमित सापकोटाले 79औं मिनटमा गरेका थिए। यस एक गोलपछि ब्रदरवुड एफसीको जित लगभग निश्चित मानिएको थियो, तर म्याचको अन्तिम क्षण 88औं मिनटमा असम राइफल्सको तर्फबाट करण छेत्रीले एक गोल गरेर खेल बराबरीमा ल्याए। चार मिनटको अतिरिक्त समयमा दुवै दलका खेलाडीहरू गोल गर्ने निक्कै प्रयास गरे, तर उनीहरू सफल भएनन्।
यसपछि, टाई-ब्रेकरको माध्यमद्वारा विजेता दलको छनोट गरियो। टाई-ब्रेकरमा असम राइफल्स शिलङले प्रतिद्वन्दी दल ब्रदरवुड एफसी सिक्किमलाई 4-1 गोलले पराजित गऱ्यो। असम राइफल्सका गोलकीपर एस. देव विश्वासले दुई पेनल्टी किक रोकेर आफ्नो दलको जित सुनिश्चित गरेका थिए। दुई दलबीच अन्तिम स्कोर 5-2 रह्यो। गोलकीपरलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्य अतिथिको रूपमा उपस्थित सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकाल र विशिष्ट अतिथि पूर्व राष्ट्रिय फुटबल खेलाडी संजय सिंहको बाहुलीद्वारा खेलाडीलाई पुरस्कृत गरियो। भोलि सिक्किम पुलिस र सिक्किम ड्र्यागन्स एफसीबीच अन्तिम क्वार्वटर फाइनल खेल सम्पन्न हुनेछ। सिक्किम फुटबल एसोसिएशनले आयोजना गरिरहेको यस प्रतिष्ठित फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 15 अगस्तमा सम्पन्न हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल