खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाटीद्वारा जनचेतना कार्यक्रम सम्पन्न
खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाटीद्वारा जनचेतना कार्यक्रम सम्पन्न


खरसाङ, 10 अगस्त (हि.स.)। धार्मिक अल्पसंख्यकहरूको निम्ति खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको आयोजनामा खरसाङको गोर्खा जन पुस्तकालयको प्रेक्षागृहमा सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू र सहुलियतहरू विषय जानकारी दिन जनचेतन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा खरसाङ माइनोरिटी सोसाइटीद्वारा आमन्त्रित धार्मिक अल्पसंख्यकहरू क्रमैले इसाई, मुस्लिम, बौद्ध धर्मावलम्बीहरूको व्यापक उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष पास्टर तिरस राईको अध्यक्षतामा सम्पन्न यस जनचेतना कार्यक्रममा खरसाङ महकुमा कार्यालयका माइनोरिटी अधिकारी एच हुसेनले सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू विषय जानकारी गराए। विद्यार्थीहरूलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति अनि उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूलाई दिइने लोन विषय पनि जानकारी गराए। उनले सार्वजनिक भवन-निर्माण, कबरस्थानको सुन्दरीकरण आदि विषयमा सरकारद्वारा प्रदान गरिने सहुलियतहरूको विषयमा पनि जानकारी गराए।

जनचेतना कार्यक्रममा उपस्थित सदस्यहरूले प्रश्नहरू पनि राखेका थिए, जसको उत्तर उपस्थित प्रतिनिधिहरूले दिए। एल्डर निर्णय लेप्चाले स्वागत भाषण राखेको यस कार्यक्रममा सन्त अलफन्सेस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन, भोटिया समुदायका उपाध्यक्ष पेम्बा भोटिया, सुकना सालबारी युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीका मुख्य सचिव रोशन डी लामा, सुखे-पोखरेबुङ माइनोरिटी वेलफेयर सोसाइटीका कार्यकारणी सदस्य पास्टर लुईस अनि खरसाङको मुस्लिम समुदायका सभापति फिरोज उर्फ बबलुले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande