गान्तोक, 12 अगस्त (हि.स.)। राजधानीमा आज 'हर घर तिरङ्गा' ऱ्याली आयोजन गरियो। यहॉंको एमजी मार्गबाट शुरू भएको 'हर घर तिरङ्गा' ऱ्याली मनन केन्द्रमा पुगेर समाप्त भयो। यस ऱ्यालीमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी बनेका थिए।
ऱ्यालीको शुरुवात राष्ट्रिय गानपछि भयो। यसपछि, अतिथिहरूले प्रदर्शनी स्टलहरूको भ्रमण गरे। स्टलहरू सिक्किम ग्रामीण आजीविका अभियान, शहरी विकास विभाग र सिक्किम खादी एवं ग्राम उद्योग बोर्डले राखेका थिए।
ऱ्यालीमा मन्त्रीगण, विधायकगण, राजनीतिक सचिवहरू, सल्लाहकारगण, अध्यक्षगण, गान्तोक नगर निगमका मेयर र उपमेयर, जिल्ला अध्यक्ष र उपाध्यक्ष, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू, एनसीसी क्याडेट् आदि पनि सहभागी बनेका थिए।
'हर घर तिरङ्गा' आजादी का अमृत महोत्सव अन्तर्गत शुरू गरिएको राष्ट्रिय अभियान हो, जसको उद्देश्य भारतको स्वतन्त्रताको उत्सव मनाउन मानिसहरूलाई राष्ट्रिय ध्वज घरमा ल्याएर फहराउन प्रोत्साहित गर्नु रहेको छ। यसैगरी, राष्ट्रिय ध्वजको बारेमा जागरुकता फैलाउनका साथै मानिसहरूको ह्रदयमा देशभक्तिको भावना जगाउनु पनि यस अभियानको उद्देश्य रहेको छ।
यो अभियान पहिलो पटक 13 देखि 15 अगस्त, 2022 मा देशको 75औं स्वतन्त्रता दिवस मनाउन आयोजन गरिएको थियो। यस पटक 2 देखि 15 अगस्त, 2025 सम्म आयोजना भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल