गान्तोक, 12 अगस्त (हि.स.)। सिक्किमको पाकिम विमानस्थलमा उडान सेवा पुनः सुरु गर्ने विषयमा छलफल गर्न केन्द्रिय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलको अध्यक्षतामा आज नयाँ दिल्लीको उडान भवनमा एक उच्चस्तरीय बैठक आयोजना गरियो। बैठक सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको अनुरोधमा बोलाइएको थियो।
बैठकमा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ अधिकारीहरू र स्पाइसजेट, इन्डिगो र एलायन्स एयरका प्रतिनिधिहरूले भाग लिएका थिए।
पाकिम विमानस्थलका विमानस्थल निर्देशक (एपीडी) बालासाहेब पोटेले विमानस्थलको वर्तमान सञ्चालन स्थिति, हालका विकासक्रमहरू र सुविधाहरू सुधार गर्ने र दीर्घकालीन उडान सञ्चालन सुनिश्चित गर्ने भविष्यका योजनाहरूको बारेमा विस्तृत प्रस्तुति दिए।
सांसद सुब्बाले सिक्किम र वरपरको क्षेत्रको लागि कनेक्टिभिटी सुधार गर्न पाकिम विमानस्थलको रणनीतिक महत्त्वमा जोड दिए। उनले उडानहरू निलम्बनका कारण स्थानीय बासिन्दा, पर्यटक र व्यवसायहरूले सामना गरिरहेका कठिनाइहरूमाथि प्रकाश पारे, जसले यात्रा, पर्यटन र आर्थिक गतिविधिमा बाधा पुर्याएको छ।
बैठकमा मौसमको अवस्था, उपयुक्त विमानको तैनाथी, र बढी विश्वसनीयता सुनिश्चित गर्न उडान तालिका सहित सञ्चालन र प्राविधिक चुनौतीहरूको समाधानमाथि पनि छलफल गरियो।
केन्द्रिय राज्यमन्त्री मोहोलले हवाई सेवाहरूको पुनर्स्थापनालाई तीव्र बनाउन एयरलाइन्स र सम्बन्धित अधिकारीहरूसँग समन्वय गर्न मन्त्रालयबाट पूर्ण सहयोगको आश्वासन दिए। एयरलाइन्स प्रतिनिधिहरूले पनि पाकिमबाट दिगो उडान सञ्चालन सुनिश्चित गर्न सहकार्य गर्न तत्परता व्यक्त गरे।
सांसद सुब्बाले सिक्किमको लागि यो महत्वपूर्ण हवाई सम्पर्क पुनर्स्थापित गर्ने प्रतिबद्धताको लागि राज्यमन्त्री, मन्त्रालयका अधिकारीहरू र एयरलाइन्स प्रतिनिधिहरूप्रति कृतज्ञता व्यक्त गरे भनी आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल