पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा


गान्तोक, 12 अगस्त (हि.स.)। कञ्चनजङ्घा एफसी सिलगढ़ी 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट (छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025) को फाइनलमा पुग्न सफल बनेको छ। राजधानीको पाल्जोर स्टेडियममा जारी उक्त टुर्नामेन्टको पहिलो सेमिफाइनल खेलमा आज कञ्चनजङ्घा एफसीले प्रतिद्वन्दी दल पोखरा थण्डर्स नेपाललाई 1-0 गोलले पराजित गऱ्यो।

सिक्किम फुटबल एसोसिएशनद्वारा आयोजना भइरहेको 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल खेल आज कञ्चनजङ्घा एफसी र पोखरा थण्डर्स नेपालबीच सम्पन्न भयो। पोखरा थण्डर्सका स्टार खेलाड़ी याकुबु आज मैदानमा देखिएनन्। स्टार खेलाड़ीको अनुपस्थितिको मूल्य पोखरा थण्डर्सले हारको सामना गर्नु परेर चुकाउनु पऱ्यो।

अर्कातिर, कञ्चनजङ्घा एफसी सिलगढ़ीले उत्कृष्ट खेलको प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेको छ। कञ्चनजङ्घा एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 10 पुजन सुब्बाले गरे, जुन निर्णायक रह्यो। अर्का खेलाड़ी अरुण तामाङले पनि आफ्ना फुटबल कौशलको माध्यमद्वारा दर्शकहरूलाई प्रभावित गरेका थिए।

कञ्चनजङ्घा एफसीको तर्फबाट निर्णायक गोल गर्ने खेलाड़ी पूजन सुब्बालाई म्यान अफ् द म्याच चयन गरियो। आज मुख्य अतिथिको रूपमा उपस्थित प्रिन्स पाल्देन गुमेद नामग्यालको बाहुलीद्वारा सुब्बालाई ट्रफी र नगद पुरस्कार प्रदान गरियो।

भोलि दोस्रो सेमिफाइनल खेल सिक्किम ड्र्यागन्स र असम राइफल्स शिलङबीच खेलिने छ। उल्लेख्य, यस प्रतिष्ठित प्रतियोगिताको फाइनल आगामी स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande