गान्तोक, 12 अगस्त (हि.स.)। राष्ट्रव्यापी हर घर तिरङ्गा अभियानको एक भागको रूपमा आज सिक्किम सरकारले राजधानीको मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले हर घर तिरङ्गा अभियानको सफल कार्यान्वयनका लागि राज्यपाल ओमप्रकाश माथुर र सबै प्रतिभागीहरूलाई धन्यवाद दिए। उनले यो कार्यक्रम भारतको आजादीको अमृत महोत्सव र सिक्किमको स्वर्ण जयन्ती समारोहको हिस्सा रहेको बताए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा राष्ट्रिय झण्डको महत्वमाथि प्रकाश पार्दै भगवा साहस र बलिदान, सेतो सत्य र शान्ति तथा हरियो प्रकृति र समृद्धिको प्रतीक हो भने अशोक चक्रले प्रगति, न्याय र धार्मिकतालाई जनाउँछ भनी उल्लेख गरे। उनले हर घर तिरङ्गा अभियानको उद्देश्य देशभक्तिलाई बलियो बनाउॅंदै नागरिक र तिरङ्गाबीच भावनात्मक सम्बन्ध सुदृढ़ बनाउनु रहेको बताए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शुरू गरेका स्वस्थ भारत, डिजिटल इण्डिया, हर घर जल, आत्मनिर्भर भारत र पीएम आवास आदि जस्ता पहलहरूको बारेमा जानकारी गराए। उनले सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको लागि परिचित रहेको बताए।
उनले संविधानले अधिकार र कर्तव्य दुवै प्रदान गरेको बताउॅंदै नागरिकहरूलाई राष्ट्रिय कार्यक्रमहरूमा भाग लिन आग्रह गरे। उनले नागरिकहरूलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहराउन प्रोत्साहित गर्दै सर्वोच्च अदालतले यो अधिकारलाई कायम राखेको जानकारी गराए। उनले तिरङ्गा एउटा झण्डा मात्र नभएर यसले शहीदहरूको बलिदान, स्वतन्त्रताको सङ्घर्ष र भावी पुस्ताको सामूहिक आकांक्षालाई प्रतिनिधित्व गर्छ भनी बताए।
यस अघि मुख्यमन्त्रीले आईपीआर विभागद्वारा आयोजित तिरङ्गा फोटो प्रदर्शनीको अवलोकन गरेका थिए। कार्यक्रममा क्याबिनेट मन्त्रीहरू, विधायकगण, जिल्ला अध्यक्ष र उपाध्यक्ष, गान्तोक नगर निगमका मेयर र उपमेयर, मुख्य सचिव तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल