- रंगबुल जुनियर बेसिक स्कूल बन्यो विजेता
सोनादा, 12 अगस्त (हि.स.)। सोनादा स्कट्स मिशन जुनियर बेसिक स्कूलको आयोजनामा तेस्रो जीबी थापा स्मृति अन्तर प्राथमिक पाठशाला क्विज प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो। सोनादा न्यू लाइट क्लबमा आज आयोजना गरिएको उक्त कार्यक्रममा सोनादा डिग्री कलेजका प्रा मेघनाथ छेत्री प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिका रुपमा सोनादा पचेङ समष्टिका सभासद अनोसकुमार थापा उपस्थित थिए।
सोनादा क्षेत्रबाट एघारवटा विद्यालयहरुले प्रतियोगितामा अंश ग्रहण गरेका थिए। रंगबुल जुनियर बेसिक स्कूललाई 310 अङ्कको साथमा विजेता अनि लीलावती प्राथमिक पाठशालालाई 300 अङ्कको साथमा उप विजेता घोषित गरियो।
सोनादा स्कट्स मिशन स्कूलले अहिलेसम्म पाठशालाभित्रै विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ। तर यसवर्ष सोनादा क्षेत्रका अन्य विद्यालयहरुलाई पनि समेटेर विद्यार्थीहरुलाई मञ्च प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी विद्यालयका प्रधानाध्यापक मेघेन्द्रमणि थापाले दिएका छन्। उनले यो कार्यक्रममा विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शन रहेको साथै कार्यक्रम सफल भएको बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक