जीटीएले ब्याडमिन्टन टुर्नामेन्ट प्रायोजन गर्ने साथै ब्याडमिन्टन खेल्ने हलको पनि निर्माण गर्नेछ: अनित थापा
ब्याडमिन्टन टुर्नामेन्ट


दार्जिलिङ, 13 अगस्त (हि.स.)। जीटीएले ब्याडमिन्टन टुर्नामेन्टको प्रायोजन गर्नेछ साथै ब्याडमिन्टन खेल्ने हलको पनि निर्माण गर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को प्रमुख कार्यपाल अनित थापाले बताएका छन्।

उनले आज जारी एक प्रेस विज्ञप्तिमा भने, 'यङ्ग सटलर्स दार्जिलिङले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ क्याम्प चलाउँदैछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनदेखि उहाँहरूले मलाई क्याम्पमा आइदिनुहोस् भनेर निमन्त्रणा दिनु भएको थियो। आज क्याम्पमा पुगे। साधारण टुर्नामेन्ट चल्दै थियो। हल प्रशिक्षार्थी अनि अभिभावकहरूले भरिएको थियो। खेल्ने नानीहरू हुनु साधारण कुरा हो, तर आमा बाबालाई नानीहरुलाई प्रोत्साहन दिँदै कराएको आज देखे। मनमनै सोचेँ आजको अभिभावक आफ्नो नानीको सर्वाङ्गीण विकास खोज्दो रहेछ।'

उनले अझ भने, 'दार्जीलिङमा खेलकूद भन्ने बित्तिकै फुटबल मात्र आँखामा आउने गर्थ्यो। अब खेलकुदका विकल्पहरू थुप्रै निस्केका छन्। ती विकल्पहरू मध्ये ब्याडमिन्टन पनि एउटा रहेको छ।' थापाले भने, टुर्नामेन्टपछि मैले उपस्थित झुण्डलाई सम्बोधन गर्दै भने कि हाम्रो समयको खेली हिड्ने संस्कार आजको नानीहरूको जीवनमा पाउँदैनौं। आजको दिनमा बाहिरको दूषित वातावरणदेखि बचाउनु अभिभावकलाई गाह्रो छ। यङ्ग सटलर्स दार्जिलिङले नानीहरू अनि अभिभावकहरूलाई एउटा राम्राे स्पेस तयार गरिदिएको छ, जहाँ नानीहरु खेल्न सक्छन्, हल्ला गर्न सक्छन्, कुद्न सक्छन्। अर्थात् नानीहरु नानी जस्तै भएर समय बिताउन सक्छन्।'

थापाले अझ भने, 'मैले वचन दिएको छु कि म दार्जिलिङमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर यहाँहरुकै देखरेखमा दिनेछु। आफ्नै हलमा कम्ती पैसामा धेरै नानीहरुले खेल्नु पाउनेछन्। दोस्रो महत्वपूर्ण कुरा चाहिँ के हो भने उहाँहरुले जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गर्नु हुने थाहा पाए। त्यस टुर्नामेन्टलाई सम्पूर्ण रूपले जीटीएले स्पोन्सर गर्नेछ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande