खरसाङ, 13 अगस्त (हि.स.)। गोर्खा जन पुस्तकालय, खरसाङले आगामी 20 अगस्तको दिन 34 औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा शैक्षिक प्रतिभा पुरस्कार, समर्पित शिक्षक सम्मान अलङ्करण एवम् कवि गोष्ठी कार्यक्रम आयोजन गरेर भव्यतापूर्वक पालन गर्ने तय गरेको छ।
पुस्तकालयले नेपाली भाषा संरक्षण, सम्वर्द्धन र सुदृढ़ बनाउन संस्थागत रूपमा विभिन्न पहल र कार्यक्रमहरू गर्दै आइरहेको कुरो सर्विदित छ। यसै प्रसङ्गमा पुस्तकालयले गत वर्ष विभिन्न सरकारी निकाय, नगरपालिका, आकाशवाणी, राष्ट्रिय राजमार्गका सम्बन्धित कार्यालयहरूमा नेपाली भाषाको प्रयोग, हिज्जे शुद्धिकरण र ठाउँ-ठेगानाको नाम सही हुनपर्छ भनेर भाषा मान्यता दिवसको अवसरमा ज्ञापन पत्र चढ़ाएका थिए।
यसबाहेक पाठशालाहरूमा विद्यार्थीहरूमा नेपाली भाषा अर्थात् मातृभाषाप्रति मोह वा जागरूकता ल्याउन भाषा शिक्षकहरूका भूमिका र योगदान अहम् मानिन्छ। यसक्रममा विशेष नेपाली भाषा शिक्षकहरूका योगदानलाई मूल्याङ्कन गर्दै गोजपुले गत वर्षदेखि 'समर्पित शिक्षक सम्मान' द्वारा खरसाङ क्षेत्रका कुनै पनि विद्यालयका भाषा शिक्षकलाई सम्मानित गर्ने परम्परा स्थापित गरेको छ।
यस सन्दर्भभा गत वर्ष सन्त अल्फन्सस् स्कूलका नेपाली भाषाका शिक्षक राजेन खवासलाई पुस्तकालयले सम्मान गरिसकेको छ भने यस वर्ष सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी भाषा शिक्षिका मीना राईको नाम चयन गरेर उनलाई 'समर्पित शिक्षक सम्मान' द्वारा अलङ्कृत गरिने गोजपुले निश्चित गरेको छ। कविको रूपमा परिचय स्थापित गर्न सफल मीना राईको शिक्षकजीवन समर्पण, वैशिष्टता र योगदानको आधारमा अतुलनीय छ।
शिक्षण पेशामा एक समर्पित शिक्षिकाको रूपमा धेरै लामो समयदेखि पुऱ्याएको उल्लेखनीय सेवाको कारण उनलाई यस वर्ष उक्त सम्मानद्वारा सम्मानित गरिने निधो गरिएको हो। गोजपुले विगत धेरै वर्षदेखि आफ्ना प्रायोजक र शुभचिन्तकहरूका सहयोगमा विशेष नेपाली भाषा विषयबाट शुरू गरेको शैक्षिक प्रतिभा पुरस्कार आज गणित, जीवविज्ञान तथा प्राविधिक विज्ञान-जस्ता विषयहरूमा पनि खरसाङ क्षेत्रका मेधावी विद्यार्थीहरूलाई प्रदान गरिरहेछ।
यसपाली खरसाङ महाविद्यालयबाट स्नातकोत्तर नेपाली टप्पर- प्रियङ्का देवान, उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक नेपाली टप्पर मन्दिरा राउत, दार्जिलिङ सरकारी महाविद्यालय, उच्च माध्यमिक टप्पर अंशु गुप्त, पुष्परानी मेमोरियल उ.मा. विद्यालय, माध्यमिक टप्पर आवर्त्तन शर्मा, मामरिङ तोऱ्योक उ. मा. विद्यालय, उच्चतर माध्यमिक नेपाली टप्परद्वय इशा सुब्बा, सन्त अल्फन्सस् उच्च माध्यमिक विद्यालय अनि स्वीकृति बराइली, सन्त जोसेफ कन्या उच्चत्तर विद्यालय, माध्यमिक नेपाली टप्पर आस्था सुब्बा, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, माध्यमिक गणित टप्पर रिवाङ लामा, सन्त अल्फन्सस् उ.मा. विद्यालय, माध्यमिक जीवविज्ञान टप्पर अनन्या पात्र, पङ्खाबारी उ.मा. विद्यालय अनि दार्जीलिङ पोलिटेक्निक संस्थान टप्पर स्वस्थानिका छेत्रीलाई ३४औँ भाषा मान्यता दिवसको अवसरमा दिन नगद राशि अनि प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ।
खरसाङ महाविद्यालयका नेपाली विभागका प्रमुख डा. योगेश खाती समारोहका प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् भने कार्यक्रमको मुख्य आकर्षण कवि गोष्ठीमा खरसाङ र खरसाङबाहिरका स्थापित कविहरूबाट कविता प्रस्तुत गरिनेछ।
हिन्दुस्थान समाचार / हनोक