सिक्किम ड्र्यागन्स एफसी फाइनलमा, कञ्जनजङ्घा एफसीसॅंग उपाधिको लागि भिडन्त हुने
सिक्किम ड्र्यागन्स एफसी फाइनलमा


गान्तोक, 13 अगस्त (हि.स.)। सिक्किम ड्र्यागन्स एफसी छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको फाइनलमा पुग्न सफल बनेको छ। आगामी 15 अगस्त स्वतन्त्रता दिवसमा खेलाइने फाइनलमा सिक्किम ड्र्यागन्स एफसी र कञ्जनजङ्घा एफसी सिलगढ़ीबीच उपाधिको लागि भिडन्त हुनेछ।

राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको उक्त टुर्नामेन्ट अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल सिक्किम ड्र्यागन्स एफसी र असम राइफल्स शिलङबीच सम्पन्न भयो। यस खेलमा प्रतिद्वन्दी दललाई 2-0 गोलले पराजित गरेर सिक्किम ड्र्यागन्स एफसी फाइनलमा प्रवेश गरेको छ। कञ्जनजङ्घा एफसी अगावै फाइनलमा प्रवेश गरिसकेको छ।

सिक्किम ड्र्यागन्सको तर्फबाट जर्सी नम्बर 75 नुकु इस्साकले उक्त दुई गोल गरेका थिए। नुकुलाई उत्कृष्ट प्रस्तुतिको लागि म्यान अफ् द म्याच चयन गरियो। आज गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा मुख्य अतिथि तथा विधानसभा सचिवालयका सचिव ललित कुमार गुरुङ, प्रधान निदेशक कर्म ग्याछो, पंकज अग्रवाल र पूर्व सचिव पीके प्रधान विशिष्ट अतिथि थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande