नारीलाई उम्मेदवार बनाउन नसक्ने पार्टीले नारीमाथि बोल्नु उचित होइन: बिना राई
नारीलाई उम्मेदवार बनाउन नसक्ने पार्टीले नारीमाथि बोल्नु उचित होइन: बिना राई


गान्तोक, 13 अगस्त (हि.स.)। '2024 को विधानसभा चुनाउमा एकै जना पनि नारीलाई उम्मेदवार बनाउन नसक्ने पार्टीले नारीको बारेमा कुरा गर्नु उचित होइन।' उक्त कुरा सत्तारुढ़ एसकेएम पार्टीकी नारी शक्ति अध्यक्ष बिना राईले आज राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भनेकी हुन्।

गत 10 अगस्तका दिन आयोजित पहिलो आमा सम्मान दिवसलाई लिएर विपक्षी एसडीएफ पार्टीले लगाएका आरोपहरूको प्रतिउत्तरमा उनले यस्तो जवाफ दिएकी हुन्। नारी शक्ति अध्यक्ष राईले 10 अगस्तका दिन आयोजित आमा सम्मान दिवसलाई ऐतिहासिक बताउॅंदै यस कार्यक्रमको परिकल्पनाको लागि मुख्यमन्त्री पीएस तामाङलाई धन्यवाद दिइन्। उनले 10 अगस्तको उल्लेख नगरि सिक्किमेली नारीहरूको इतिहास पूरा हुने छैन भनी दाबी पनि गरिन्।

2014 को चुनाउपछि तुलसीदेवी राईलाई मन्त्री र उनका गणेश कुमार राईलाई सीकनको अध्यक्ष बनाइएको थियो भन्दै अध्यक्ष राईले आज कसैले कल्पना समेत नगरेको कार्य मुख्यमन्त्री पीएस तामाङले गर्दै नारीहरूलाई अध्यक्ष बनाएर के भूल गरेका हुन् भनी प्रश्न गरिन्। पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि आफ्नो शासनलाई मात्र राम्रो बताउने गरेकोमा उनले कडा प्रतिक्रिया दिइन्।

उनले प्रश्न गर्दै यदि पूर्व मुख्यमन्त्रीले यदि पहिले सुशासन थियो भन्छन् भने किन मानिसहरू सडकमा उत्रिए, किन क्रान्ति गरे भन्दै प्रश्न गरिन्। उनले मैले गरेको मात्र ठीक, अरुले गरेका सबै गलत भन्ने सोचले नै पतन निम्त्याउॅंछ भनिन्।

यस अघि नारी शक्ति उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले 10 अगस्तका दिन आयोजित आमा सम्मान दिवसको लागि मुख्यमन्त्री तामाङप्रति कृतज्ञता प्रकट गरिन्। उनले उक्त कार्यक्रमलाई लिएर राज्य बाहिर पनि व्यापक चर्चा चलिरहेको र सबैले सराहना गरिरहेको जानकारी गराइन्। अर्कातिर, यस कार्यक्रमलाई लिएर राज्यभित्र कतिले खिल्ली उडाउने कार्य गरेकोमा उनले दु:ख व्यक्त गरिन्।

यसरी नै एसकेएम प्रवक्ता कविता सापकोटाले 2023 मा जोरथाङमा आयोजित सम्मेलनमा मुख्यमन्त्रीले एसएचजीका महिलाहरूलाई पनि चेयरपर्सन बनाउने घोषणा गरेका थिए र मुख्यमन्त्रीले आफ्नो वचन पूरा गरेको बताइन्। विपक्षीहरूका कारण एचएचजीका महिलाहरूले चेयरपर्सनको पद पाएका होइनन् भनी उनले स्पष्ट गरिन्।

एसकेएम सरकारले आज महिलाहरूलाई चेयरपर्सन बनाएको, जिल्ला पञ्चायत र पञ्चायतहरूमा 57 प्रतिशत महिलाहरूलाई स्थान दिएको बताइन्। अर्कातिर, एसडीएफ पार्टीमा महिला प्रतिनिधिहरूको संख्या घट्दो रहेको उनले बताइन्।

यसरी नै पाकिम जिल्ला नारी शक्ति प्रभारी प्रभा प्रधानले एसकेएम सरकारले महिलाहरूको पक्षमा शुरू गरेका विभिन्न कार्यक्रमहरू र योजनाहरूको बारेमा जानकारी दिइन्। जब-जब एसकेएमले नारीहरूलाई सम्मानित गर्दछ तब-तब विपक्षीहरूले यसको विरोध गर्न थाल्छ भन्दै उनले राम्रो कामको सराहना पनि गर्न सक्नुपर्छ भनिन्।

नारी शक्ति संयोजिका दिना छेत्रीले पूर्व सरकारमा नारीहरूलाई केवल भोट ब्याङ्कको रूपमा प्रयोग गरिएको आरोप लगाइन्। उनले पूर्व सरकारमा नारीहरूको कुनै सम्मान थिए भन्दै पूर्व मुख्यमन्त्रीले एक कार्यक्रममा मासिक धर्मलाई हॉंसोको पात्र बनाउने कार्य गरेको स्मरण गराइन्। एसडीएफ पार्टीले आफ्नो कार्यकालमा महिलाहरूलाई सशक्त बनाउन कुनै काम नगरेको पनि उनले आरोप लगाइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande