तीनधारे, 13 अगस्त (हि.स.)। लगातार परिरहेको पानी झरीका कारण तीनधारेको अप्पर गोलाईमा पैह्रो गएर 5-6 वटा घरलाई खतरा उत्पन्न भएको छ। आज बिहान तीनधारेको अप्पर गोलाईमा गएको पैह्रोले स्थानीय अमर थापाको घर पैह्रोको चपेटमा परेको छ। माथिबाट आएको पैह्रोले अमर थापाको काठको घर सरेर लगेकाले निक्कै खतरा उत्पन्न भएको छ।
पैह्रोले अप्पर गोलाईका 5-6 वटा घरहरुलाई पनि खतरा उत्पन्न भएको छ। तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरु अजय विश्वकर्म, दावा दोर्जे लामा र सुष्मिता गजमेर साथै पञ्चायत सचिव रबीन मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिका सचिव अनिल राई, भीसीडीले आज उक्त पैह्रो प्रभावित घरहरुको निरीक्षण गरेका छन्।
पैह्रोले अमर थापाको घरलाई खतरा उत्पन्न भएपछि निरीक्षणमा आएका सभासद लगायतका टोलीले अमर थापाको परिवारलाई सुरक्षित ठाउॅंमा स्थानान्तरण गर्ने काम गरेको जानकारी प्राप्त भएको छ। यसका साथै पञ्चायतको तर्फबाट पोलिथिन लगाएर पैह्रो छोप्ने कार्य गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक