इम्फाल, 02 अगस्त (हि.स.)। मणिपुरमा बितेको 24 घण्टाभित्रमा सुरक्षा बलहरूले समन्वित कारबाही गर्दै प्रतिबन्धित उग्रवादी संगठन केसीपी र प्रीपाकसित आवद्ध तीनजना उग्रवादीहरूलाई पक्राउ गरेका छन्। यी सबै बलजफ्ती असुली, हमला एवं अन्य आपराधिक गतिविधिहरूमा संलिप्त रहेको बताइएको छ।
मणिपुर पुलिस मुख्यालयबाट शनिवार प्राप्त जानकारी अनुसार पहिलो पक्राउ इम्पाल ईस्ट जिल्लामा भएको हो जहाँ कांगलिपाक कम्युनिस्ट पार्टी (मिलिट्री एण्ड फाइनेन्शियल लिबरेशन)- का क्याडर युम्खैबम रोनाल्डो मैतेई (24)-लाई न्यू चेकन ट्राइबल कलोनीबाट पक्राउ गरियो। पछिल्लो मार्च महिनामा इम्फाल वेस्टमा एकजना सरकारी अधिकारीको आवासमा भएको गोलीकाण्डमा उसको संलिप्तता पाइएको छ। उसको कब्जाबाट एउटा मोबाइल फोन अनि आधार कार्ड जफत गरियो।
यसै अवधि काकचिंग जिल्लाको वाबगाई माइरेम्बम लाइकाई क्षेत्रबाट पिपुल्स रिभोल्यूशनरी पार्टी अफ कांगलिपाक (प्रीपाक)-का उग्रवादी युमनाम सुशिन्ताकुमार सिंह (26)-लाई पक्राउ गरियो जसको कब्जाबाट एउटा 7.65 मिमी पेस्तोल, लोडेड म्यागजिन, मोबाइल फोन र आधार कार्ड जफत गरियो।
तेस्रो कारबाही इम्फाल ईस्टको सगोलमांग थाना क्षेत्रमा भयो जहाँ प्रीपाक (रेड आर्मी)- का स्वयम्भु लेफ्टिनेन्ट लिशाम सनायाम्बा सिंह (33)-लाई उसको निवास स्थान उयुमपोक मानिंग लाइकाईबाट समातियो। उ प्रीपाक मात्र नभएर केसीसी (पीडब्ल्यूजी)-को बलजफ्ती असुलीको गतिविधिमा पनि सामेल थियो। छापामारीमा उबाट केसीसी (पीडब्ल्यूजी)- को लेटरहेडमा लेखिएको पाँचवटा माग पत्र र एउटा मोबाइल फोन जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा