गान्तोक, 04 अगस्त (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी आमा सम्मान दिवसलाई लिएर आज अन्तिम तयारी बैठक आयोजन गऱ्यो। उक्त कार्यक्रम आगामी 10 अगस्तका दिन जन उन्मुक्ति दिवसको अवसरमा रम्फूको खेलमैदानमा आयोजन गरिने छ।
एसकेएम पार्टी कार्यकारी अध्यक्ष केएन लेप्चाको अध्यक्षतामा आयोजित बैठकमा सेक्रेटेरी जनरल अरुण उप्रेती, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, राजनीतिक सचिवहरू, सल्लाहकारगण, अध्यक्षगण तथा अन्यहरू वरिष्ठ पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा आमा सम्मान दिवसको तयारीलाई लिएर विभिन्न विभागहरूले आफ्नो प्रगति प्रतिवेदन पेश गरे। यसैगरी, पण्डाल, बस्ने व्यवस्था, खानपान, ट्राफिक, यातायात प्रबन्धन, पेयजल आपूर्ति, स्वच्छता आदि विषयहरूमाथि उप-समितिहरूले अपडेट दिए।
यो कार्यक्रम आधिकारिक रूपमा महिला तथा बाल विकास विभागद्वारा आयोजना गरिएको भए तापनि एसकेएम पार्टीले यसको भव्य सफलता सुनिश्चित गर्न पूर्ण बन्दोबस्ती र संगठनात्मक सहयोग प्रदान गरिरहेको आज जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ।
एसकेएमले आमाहरूको प्रेम, नि:स्वार्थ समर्पण र करुणाको उत्सव मनाउँदै उनीहरूको सम्मानमा यस्तो विशेष र व्यापक कार्यक्रम आयोजन गर्ने सिक्किम देशकै पहिलो राज्य रहेको दाबी गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको व्यावहारिक र करुणामय नेतृत्वमा त्यस दिन दुईवटा मुख्य ध्वजवाहक कल्याण योजनाहरूको पनि शुभारम्भ गरिने कुरा विज्ञप्तिमा उल्लेख छ।
जानकारी अनुसार, उक्त दिन महिला एवं बालबालिका विकास विभागद्वारा सिक्किम आमा सशक्तिकरण योजना शुरुवात गरिने छ, जस अन्तर्गत राज्यका 32 हजारभन्दा धेरै आमाहरूले वित्तीय सहायताको पहिलो किस्ता चेकको माध्यमद्वारा प्राप्त गर्नेछन्। यसरी नै आरएमडी विभागद्वारा सिक्किम आमा सहयोग योजना शुभारम्भ गरिने छ, जस अन्तर्गत 4,200 लाभार्थी आमाहरूलाई प्रत्येक वर्ष चारवटा एलपीजी सिलिन्डर रिफिल उपलब्ध गराइने छ।
एसकेएमले भनेको छ, आगामी उत्सव सिक्किमको इतिहासमा सबैभन्दा ठूलो सार्वजनिक भेला हुने अपेक्षा गरिएको छ। यसले वास्तविक महिला सशक्तिकरण र समावेशी शासनप्रति मुख्यमन्त्रीको व्यक्तिगत प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ। एसकेएम पार्टीले यस्तो महान पहलको व्यवस्थापन र समर्थन गर्नमा ठूलो गर्व गर्दछ भन्दै कार्यक्रम भव्य, अविस्मरणीय र प्रभावकारी बनाउन हरेक तहमा आफ्नो तत्परताको पुष्टि गरेको छ।
एसकेएमले जन उन्मुक्ति दिवसलाई आमा सम्मान दिवसको रूपमा मनाउने निर्णयले पार्टीको कृतज्ञता, सम्मान र सशक्तिकरणको गहिरो मूल्यलाई प्रतिबिम्बित गर्दछ भनेको छ। एसकेएम पार्टीले आगामी 10 अगस्त, 2025 का दिन रम्फू खेल मैदानमा सबै नागरिकहरूलाई उपस्थित भइदिन हार्दिक निमन्त्रणा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल