खरसाङ, 02 अगस्त (हि.स.)। वाणीश्री कल्याण समितिका नयाँ सदस्यहरुलाई स्वागत जनाउन आज एक स्वागत कार्यक्रम आयोजन गरियो। खरसाङको गोर्खा जनपुस्तकालयस्थित डा पारसमणि प्रेक्षागृहमा आयोजित कार्यक्रमको अध्यक्षता वाणीश्री कल्याण समितिकी सभापति पी लक्की शेर्पाले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाणीश्री कल्याण समितिका संस्थापक सदस्यहरुमध्ये एक एवं गोर्खा जनपुस्तकालय खरसाङका उपाध्यक्ष प्रकाश प्रधान उपस्थित रहेका थिए।
आकाशवाणी खरसाङमा कार्यरत् अस्थायी उद्घोषक उदघोषिकाहरुद्वारा गठित संस्था वाणीश्री कल्याण समितिमा नयाँ सामेल भएका सदस्य सदस्याहरुलाई स्वागत जनाउन वर्तमान कमिटीको आयोजनामा उक्त स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। सबिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साथै वाणीश्री कल्याण समितिको उद्देश्य विषयमा सचिव सिल्भेष्टर लेप्चाले वक्तव्य राखेका थिए। उनले वाणीश्री कल्याण समितिको सम्पूर्ण विवरण प्रस्तुत गर्दै अहिलेसम्म वाणीश्री कल्याण समितिले गरेका कामहरु र विभिन्न कार्यक्रमतिर सहभागिता जनाएका विवरणहरु प्रस्तुत गरे।
कार्यक्रममा स्वागत नृत्य सुप्रिया ठटालले प्रस्तुत गरिन् भने सामूहिक गीत र नृत्य पुराना सदस्य सदस्याहरुले प्रस्तुत गरेका थिए। कार्यक्रममा वाणीश्री कल्याण समितिको हर हिसाब र नियमहरु विषयमा कोषाध्यक्षा चित्र आलेले विवरण प्रस्तुत गरिन्। उनले आकाशवाणी खरसाङमा कार्यरत् वाणीश्री कल्याण समितिका सदस्य सदस्याहरुका परिवारमा पर्न गएको दु:ख र सुखको कार्यहरुमा सामेल हुने गरेको साथै सबैको साथ र सहयोग हुनुपर्ने बताइन्।
कार्यक्रममा वाणीश्री कल्याण समिति विषयमा हनोक थापाले पनि वक्तव्य राखेका थिए। उनले यो कुनै युनियन नभएर साथीहरुको दु:ख र सुखमा सामेल हुने साथै मित्रवत् सम्बन्ध कायम रहनलाई रहेको बताए। उनले भविष्यमा सम्पूर्ण संस्थापक सदस्यहरुलाई लिएर सबै मिलेर कार्यक्रम आयोजना गर्नुपर्ने र आगामी दिनमा सबै एकसाथ अघि जानु पर्ने आह्वान् गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रकाश प्रधानलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। त्यसरी वाणीश्रीका पुराना पदाधिकारीहरुलाई र पुराना सदस्याहरु र वर्तमान पदाधिकारीवर्गलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसै क्रममा कार्यक्रममा वाणीश्री कल्याण समितिका नयाँ सदस्य सदस्याहरुलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।
कार्यक्रममा प्रमुख अतिथि प्रकाश प्रधानले आफ्नो सम्बोधनमा वाणीश्री कल्याण समितिको स्थापना 1991-92 सालतिर भएको बताउँदै यसरी अहिलेसम्म वाणीश्री कल्याण समिति सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै विभिन्न सुझाउहरु राखेका थिए। उनले वाणीश्री कल्याण समितिका अन्य संस्थापक सदस्यहरुलाई पनि बोलाउनु पर्ने बताउँदै भविष्यमा सबैलाई समेटेर कार्यक्रम आयोजना गर्ने सुझाउ दिएका छन्।
सभाध्यक्षा पी लक्की शेर्पाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै वाणीश्री कल्याण समितिको कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्। कार्यक्रममा नयाँ सदस्य सदस्याहरुका तर्फबाट देवेन्द्र छेत्रीले सम्भाषण राख्दै आभार प्रकट गरे। कार्यक्रममा गायिका शोभना प्रधान र देवेन थापा गीत प्रस्तुत गरे भने नयाँ सदस्याहरुले समूह नृत्य प्रस्तुत गरेका थिए। त्यसरी सबिना गिरी र सिल्भेष्टर लेप्चाले पनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा म्यजिकल चेयर र बल पासिङ गेम पनि खेलाइएको थियो, जसमा मनिष कानु र कल्पना छेत्री बिजय बने।
हिन्दुस्थान समाचार / हनोक