एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न


एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न


- जिल्ला प्रभारीले उत्साहपूर्वक, प्रतिबद्धतापूर्वक र समर्पित ढंगले काम गर्न अपील गरिन्

गान्तोक, 02 अगस्त (हि.स.)। दक्षिण सिक्किमको नाम्चीमा एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा आज पार्टी जिल्ला प्रभारी सकुन गुरूङको अध्यक्षतामा सम्पन्न भयो।

सभामा नवनियुक्त जिल्ला सभापति, उपसभापति, महासचिव, सचिव, सल्लाहकारहरू तथा विगतको निर्वाचनमा मल्ली क्षेत्रका पार्टी उम्मेदवार निर्मल प्रधान, साथै एसडीएफ चेली मोर्चा प्रमुख कोमल चाम्लिङको विशेष उपस्थिति रहेको थियो।

एसडीएफ नाम्ची जिल्लाका प्रचार सचिव एलबी छेत्रीद्वारा आज जारी प्रेस वि​ज्ञप्ति अनुसार, कार्यक्रमको शुरुवात नवनियुक्त पदाधिकारीहरूको परिचय र मन्तव्यबाट भयो। त्यसपछि युवा मोर्चा, चेली मोर्चा, विद्यार्थी मोर्चा र प्रचारप्रसार शाखाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने लक्ष्यका साथ कसरी योजनाबद्ध ढंगमा काम गर्ने भन्ने विषयमा गम्भीर छलफल गरियो। साथै जिल्लाका सम्पूर्ण कार्यकर्ताबीच निरन्तर समन्वय, सहकार्य र सम्पर्कमा रहनुपर्ने विषयमा सबैले एकमत जनाए। यसैगरी, प्रत्येक महिना नियमित रूपमा जिल्ला सभा आयोजना गर्ने प्रस्ताव पारित गरियो।

सभा अध्यक्ष जिल्ला प्रभारी सकुन गुरूङले सबै नवनियुक्त पदाधिकारीहरूलाई खादा अर्पण गर्दै बधाई तथा शुभकामना दिइन्। उनले एसडीएफ पार्टीलाई समावेशी, युवामुखी र जनमुखी पार्टीको रूपमा प्रस्तुत गर्दै यस पार्टीबाटै सिक्किमको सुरक्षित भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरिन्। उनले सबैलाई उत्साहपूर्वक, प्रतिबद्धतापूर्वक र समर्पित ढंगले काम गर्न अपील पनि गरिन्।

सभामा रिवस लिम्बू (युवा महासचिव), अमृता दियाली (उपसभापति, चेली मोर्चा), अरूण लिम्बू (उपसभापति, श्रमिक मोर्चा), रिकजिङ नर्बु दोर्जी भोटिया (पार्टी प्रवक्ता), र ईश्वर प्रसाद राई (महासचिव, मोटिभेसनल) ले पार्टीको भावी मार्गचित्रबारे आफ्ना विचारहरू राखेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande