बाँकुड़ा, 03 अगस्त (हि. स.)। जिल्लाको पात्रसायर थाना क्षेत्रस्थित बीरसिंह गाउँमा आइतवार माटोको पर्खालमुनि दबिएर एक जना अढ़ाई वर्षीय बालिकाको मृत्यु भयो। आइतवार घरको आँगनमा खेलिरहेकी बालिकामाथि अचानक माटोको पर्खाल भत्किएर झऱ्यो। मृत बालिकाको नाम किरण लोहार हो। यस घटनाले गाउँमा गहिरो शोक व्याप्त भएको छ।
बीरसिंह गाउँको डांगापाड़ा क्षेत्रमा श्रमिकको रूपमा काम गरेर जीवन यापन गर्ने विश्वनाथ लोहार आफ्नो परिवारसित कच्ची घरमा बस्दै आइरहेका छन् जसको छानो एलबेस्टसको थियो। बितेका केही दिनदेखिको बाँकुड़ामा भइरहेको अविरल वर्षाले घरका भित्ताहरू भिजेर कमजोर भइसकेका थिए। विश्वनाथका दुई जना छोरीहरूमध्ये कान्छी छोरी किरण बिहान घरको आँगनमा खेलिरहेकी थिई, अचानक घरको भित्ता झरेर उसलाई पुऱ्यो।
परिवारका सदस्यहरूले तत्काल माटोलाई हटाएर बालिकालाई बाहिर निकाले अनि तत्कालै पात्रसायर ब्लक प्राइमरी हेल्थ सेन्टरमा पुऱ्याए, तर डाक्टरहरूले बालिकालाई मृत घोषित गरिदिए।
घटनाको खबर पाए लगत्तै बिष्णुपुर सांगठनिक जिल्ला तृणमूल कंग्रेसका अध्यक्ष सुब्रत दत्ताले अस्पतालमा पुगेर पीड़ित परिवारसित भेट गरे। प्रशासनले पनि घटनाको जानकारी लिएपछि पीड़ित परिवारलाई दुई लाख रुपियाँ सहायता राशि प्रदान गर्ने आश्वासन दिएको छ। यता तृणमूलका अखिल भारतीय महासचिव औ डायमण्ड हार्बरका सांसद अभिषेक ब्यानर्जीको पक्षबाट अतिरिक्त तीन लाख रुपियाँ सहायता प्रदान गर्ने वाचा गरिएको छ।
बालिकाको असामयिक मृत्युले गाउँमा शोक छाएको छ। परिवार गहिरो शोकमा डुबेको छ। पुलिसले बालिकाको शवलाई पोस्टमार्टम गर्नको लागि पठाइदिएको छ। प्रशासनले घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा