हरियो माखा प्रोजेक्टद्वारा सिङ्बेलमा फलका बिरुवाहरू रोपण
हरियो माखा प्रोजेक्टद्वारा सिङ्बेलमा फलका बिरुवाहरू रोपण


गान्तोक, 03 अगस्त (हि.स.)। हरियो माखा प्रोजेक्टले आफ्नो 'नव निकुञ्ज प्रकरण' अन्तर्गत पाटुक-सिङ्बेल जीपीयूको स्थानीय फरेस्ट एरिया, सिङ्बेलमा फलका बिरुवाहरू लगाएका छन्। गत वर्ष पनि हरियो माखा प्रोजेक्ट अन्तर्गत सिङ्बेलको गौचरण क्षेत्रमा बिरुवा रोपण कार्यक्रम आयोजन गरेको थियो।

सामाजिक-पर्यावरणीय विकासको लागि बिदाको योगदान दिॅंदै लगभग 300 जना स्वयंसेवक यस अभियानमा सहभागी बने, जसमा पाटुक सिङ्बेल जीपीयूका वार्ड पञ्चायतहरू, जिल्ला पञ्चायत, सरकारी प्राथमिक विद्यालय सेण्ट्रल पाटुकको इको क्लब माखाका विद्यार्थीहरू, वन कार्यालय सिङताम, पाकसम मूनलाइट संघ पाटुकका सदस्यहरू, डब्ल्युडीएस सिङ्बेल, एसएचजी, नरेगा कामदारहरू र स्थानीय बुद्धिजीविहरू सामेल थिए। उपस्थित सबैले सिङताम माखा मार्गदेखि लगभग 500 मिटरमुनि फलका बिरुवाहरू लगाए।

माखा निवासी रुपेशचन्द्र शर्माको मुख्य प्राविधिक सहायतामा आयोजित बिरुवा रोपण अभियानको अध्यक्षता क्षेत्र विधायक साम्डुप छिरिङ भोटियाले गरेका थिए। उनी यस पहलका प्रमुख संरक्षक पनि हुन्। यसैगरी, सिङतामका ब्लक अफिसर विशेष अतिथि थिए। कार्यक्रममा सेवानिवृत्त बीओ टीपी न्यौपाने मुख्य स्रोतवक्ता तथा सेवानिवृत्त बीओ लक्ष्मी सापकोटा, सामाजिक कार्यकर्ता होम अधिकारी र सेवा निवृत्त उपनिदेशक, बागवानी विभाग केएल कोइराला स्रोत वक्ताका रूपमा उपस्थित थिए।

उल्लेख्य, यो पहल 4 वर्षे परीक्षण कार्यक्रमको रूपमा परिकल्पना गरिएको थियो, जसको उद्देश्य पर्याप्त संख्यामा फलफूलका रूखहरू रोपेर वन्यजन्तुहरूलाई उनीहरूको आफ्नै प्राकृतिक बासस्थानभित्र संलग्न गराएर मानव-वन्यजन्तु द्वन्द्व कम गर्नु थियो। यस विचारको परिकल्पना हरियो माखा प्रोजेक्ट अन्तर्गत माखा सरकारी वरिष्ठ माध्यमिक विद्यालयका शिक्षक लोमस ढुङ्गेलले गरेका थिए।

यो विचार मुख्यमन्त्रीको 'मेरो रुख मेरो सन्तति' को दृष्टिकोणबाट पनि प्रेरित रहेको बताइएको छ र यसलाई ईएनवीआईएस र वन तथा वातावरण विभागद्वारा पनि समर्थन प्राप्त रहेको छ। यस क्रममा सिङतामकी मेनुका देवी अधिकारी र लोमस ढुङ्गेलकी छोरी लोचना ढुङ्गेलको जन्मोत्सव मनाउन 108 वटा फलफूलका बिरुवा रोपिएको थियो। यसका साथै कार्यक्रममा 100 वटा फलफूलका बिरुवा र केही फलफूलका बीउहरू पनि रोपिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक भोटियाले लोमस ढुङ्गेललाई मानव-वन्यजन्तु द्वन्द्व समाधान गर्न प्रयोग गर्ने विचार ल्याएकोमा बधाई दिए। उनले यो विचार राज्यमा आफ्नो प्रकारको पहिलो रहेको बताए। उनले विशाल फलफूल रोपण अभियानको सफलताको लागि सबै स्वयंसेवकहरूलाई बधाई दिॅंदै राज्यमा यस्तै पहलहरूमा काम गर्ने र आम जनतामाझ जागरूकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande