अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा खरसाङमा तर्क प्रतियोगिता सम्पन्न
अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा खरसाङमा तर्क प्रतियोगिता सम्पन्न


खरसाङ, 03 अगस्त (हि.स.)। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा 34औं भाषा मान्यता दिवसलाई मध्यनजर गर्दै जीटीए स्तरीय तर्क प्रतियोगिता आयोजना भइरहेको छ। यस क्रममा पहिलो चरणको तर्क प्रतियोगिता महासंघको खरसाङ महकुमा समितिले खरसाङ महाविद्यालयमा आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल उपस्थित रहेका थिए। तर्क प्रतियोगितामा चारवटा महाविद्यालयले सहभागिता जनाएको थियो, जसमा खरसाङ महाविद्यालय, दार्जिलिङ पोलिटेकनिक कलेज खरसाङ, सोनादा डिग्री कलेज र सलेशियन कलेज सोनादा सामेल थिए‌।

तर्क सभाको अध्यक्षता सालुगढा हाई स्कूलको नेपाली विषयका शिक्षक सागर शर्माले गरेका थिए। तर्क प्रतियोगितालाई शिक्षक दिव्यत्तम अधिकारीले‌ सञ्चालन गरेका थिए। यस तर्क सभाको विषय 'अङ्ग्रेजी भाषाको अत्याधिक प्रयोगले नेपाली भाषा संकटमा छ कि छैन' रहेको थियो। यसमा खरसाङ महाविद्यालयले पक्षमा आफ्नो तर्क प्रस्तुत गर्दै विजय बन्यो। अब आगामी 9 अगस्तमा दार्जिलिङमा हुने सेमिफाइनलमा खरसाङ महाविद्यालय र कालेबुङमाझ तर्क हुनेछ।

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले‌ भाषाप्रति माया र यसको संरक्षणको लागि पहल गर्दै तर्क प्रतियोगिता आयोजना गरेको जानकारी महासचिव दयाराम शर्माले दिएका छन्।‌ यस तर्क प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका सभापति राजु शर्मा, कार्यवाहक सचिव बीरबल पाख्रीन, नारी शक्तिको खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका गोमा सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande