कोलकाता, 05 अगस्त (हि.स.)। आगामी वर्ष 2026- मा हुने पश्चिम बंगाल विधानसभा चुनाउपूर्व राज्य भाजपाले केन्द्रिय नेतृत्वसित प्रधानमन्त्री नरेन्द्र मोदीको हरेक महिना न्यूनतम पनि एउटा जनसभा आयोजना गराउने अनुरोध गरेको छ। योजना अनुसार यो सिलसिला दिसम्बरसम्म जारी रहनेछ। शुरूआत यसै महिना उत्तर 24 परगना जिल्लाको दमदममा हुने सभाबाट हुनेछ जसको सम्भावित मिति आगामी 20 तय गरिएको छ, तथापि यसमाथि अन्तिम स्वीकृति प्रधानमन्त्री कार्यालयबाट पाउनु बाँकी नै छ।
भाजपाको राज्य समितिमा सामेल एक जना वरिष्ठ नेता अनुसार यो प्रस्ताव गए सोमवार नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसित भएको बैठकमा राखियो। यस अतिरिक्त पार्टीले जनवरी, 2026-मा कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा एक विशाल केन्द्रिय ऱ्याली आयोजना गर्ने योजना पनि बनाएको छ जसमा प्रधानमन्त्री मोदीको उपस्थिति रहनेछ।
राज्य समितिको सूत्रले बतायो, आगामी महिनाहरूमा दक्षिण एवं उत्तर बंगाल दुवैतिरको व्यापक क्षेत्रलाई कभर गर्ने हिसाबले प्रधानमन्त्रीका सभाहरू तय गरिनेछ। यसको लागि यस्ता स्थानहरूलाई चयनगरिनेछ जुन दुई वा योभन्दा अधिक जिल्लाहरूको मिलन बिन्दु होस्।
यस वर्ष बंगालमा प्रधानमन्त्री मोदीले पहिला नै दुईवटा जनसभाहरू गरिसकेका छन्। पहिलो मई महिनामा आयोजित उत्तर बंगालको अलिपुरद्वारको जनसभा र दोस्रो दक्षिण बंगालको पश्चिम बर्दवान जिल्लाको औद्योगिक नगर दुर्गापुरमा आयोजित जनसभा। दुवै जनसभामा प्रधानमन्त्रीले मुख्यमन्त्री ममता ब्यनर्जीको सरकार र तृणमूल कंग्रेसमाथि भ्रष्टाचार, महिलाविरूद्ध अपराध तथा अल्पसंख्यक बहुल क्षेत्रहरूमा हुलदंगा जस्तो स्थिति आदि मुद्दाहरूमा धारिलो प्रहार गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा