अलिपुरद्वार, 05 अगस्त (हि.स)। एक द्रूत गतिको वाहनको चपेटमा परी एउटा चितुवाको मृत्यु भएको छ। घटना जिल्लाको मदारीहाट प्रखण्ड अन्तर्गत दक्षिण खैरबारी जंगल नजिक भएको हो। मंगलवार चितुवाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार गए सोमवार अबेर राती असम-सिलगढ़ी राष्ट्रिय राजमार्गमा एउटा वाहन द्रूत गतिमा आइरहेको थियो। सोही समय सड़क पार गरिरहेको वयस्क चितुवा उक्त वाहनको चपेटमा पऱ्यो जसले गर्दा चितुवाको घटनास्थलमै मृत्यु भयो। घटनाको खबर पाउनसाथ वन अधिकारी तुरून्त घटनास्थलमा पुगे अनि मृत चितुवालाई आफ्नो कब्जामा लिए।
यस घटनाको सम्बन्धमा जलदापाड़ा वन्यजीव विभागका डीएफओ प्रवीण कासवानले भने, घटनाको जाँच गर्ने आदेश दिइएको छ। पुलिस र वन विभागले संयुक्त रूपमा वाहनको पहिचान गर्नको लागि जाँच शुरू गरेको छ। यस्ता घटनाहरूलाई रोक्नका लागि वनकर्मीहरूको सतर्कता अझ बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा