सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
बिना शर्मा


गान्तोक, 05 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले सिलगढीको हाकिमपारामा हालै नेपाली भाषी समुदायमाथि भएको जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाप्रति गहिरो आक्रोश र कडा निन्दा व्यक्त गरेको छ। सीएपीले दुई महिला संलग्न रहेको भनिएको यो भयावह कृत्य केवल एउटा समुदायमाथिको आक्रमण मात्र नभइ, यो क्षेत्रको सामाजिक संरचनालाई परिभाषित गर्ने पारस्परिक सम्मान, एकता र सद्भावको मूल्यमान्यताको अपमान हो भनी बताएको छ।

सीएपी महिला परिषदकी अध्यक्ष बिना शर्माले आज जारी एक प्रेस विज्ञप्तिमा जातीय भेदभावका यस्ता कार्यहरूले सिक्किम र दार्जिलिङ पहाडका जनताको भावनामा गहिरो चोट पुर्‍याएको बताएकी छिन्। उनले बंगाली र नेपाली समुदायबीचको सम्बन्ध ऐतिहासिक रूपमा पारस्परिक सम्मान, न्यानोपन र ऐक्यबद्धताको सम्बन्ध रहेको बताएकी छिन्। उनले यस सम्बन्धको बारम्बार परीक्षा भएको छ, तर दुवै समुदायका शान्तिप्रेमी नागरिकहरूको सामूहिक प्रयासका कारण मजबुत बनेको बताएकी छिन्।

उनले अझै पनि केही तत्वहरू छन्, जसले आफ्नो घृणित कार्यहरू र विभाजनकारी शब्दहरू मार्फत यो मेहनतले कमाएको सद्भावलाई टुक्राटुक्रा पार्ने प्रयास गर्छन् भनेकी छिन्। उनले यी असामाजिक प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार गरिनुपर्छ र लोकतान्त्रिक समाजमा कहिल्यै सहन गरिनु हुँदैन भनेकी छिन्। अध्यक्ष शर्माले सिलगढी महानगर पुलिस समक्ष जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाहीको माग गरेकी छिन्।

उल्लेखनीय छ, सिलगढीको हाकिमपारामा नेपाली भाषी विद्यार्थीहरूमाथि कथित जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटना प्रकाशमा आएको थियो। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी दुई महिलालाई केरकारको निम्ति हिरासतमा लिएको थाहा लागेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande