खरसाङ, 05 अगस्त (हि.स.)। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको प्रतिनिधि टोली दार्जिलिङको लालकोठीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापासॅंग भेट गरेर विभिन्न समस्याहरु विषयमा ज्ञापन पत्र बुझाएको छ। प्रतिनिधि टोलीले जीटीए प्रमुख अनित थापा र स्वास्थ्य विभागको कार्यकारी निर्देशकसित भेट गरी घैयाबारी अस्पतालमा फार्मसिस्टको अभाव रहेको विषयमा अवगत गराए।
प्रतिनिधि टोलीले घैयाबारी अस्पतालमा एकजना फार्मसिस्टको अभावले दबाई वितरणमा समस्या भइरहेको साथै जनसाधारणलाई धेरै असुविधा भइरहेको विषयमा जीटीए प्रमुखको ध्यानाकर्षण गराए। यसरी नै तीनधारेमा निर्माण गरिएको विद्यालय भवनलाई पनि प्रयोगमा ल्याइदिन उनीहरूले अनुरोध गर्दै शिक्षा विभागको कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाएका छन्। तीनधारेको राजबारीमा नयाँ स्कूल भवन प्रयोगविहीन रहेकोले कुनै स्कूल यहाँ सञ्चालन हुन सके राम्रो हुने उनीहरूको भनाई छ।
अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको आयोजनामा आगामी 23 अगस्तको दिन समष्टि स्तरीय भाषा मान्यता दिवस समारोह पालन गर्दै दशौँ र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्बर्द्धना जनाइने भएको छ। यस विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले समष्टिको नयाँ कमिटी दार्जिलिङ पुगेर जीटीए प्रमुख अनित थापासॅंग भेटघाट एवं परिचय आदान प्रदान गरिएको जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक