कोलकाता, 06 अगस्त (हि. स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लस्करमा भएको हमलापछि केन्द्र सरकार सक्रिय भएको छ। गए मंगलवार राती केन्द्रिय गृह मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले फोन गरी हमलाको सम्पूर्ण जानकारी लिए अनि उनको स्वास्थ्यको बारेमा सोधे।
भाजपाका एकजना वरिष्ठ पदाधिकारीले बताए, केन्द्रिय गृहमन्त्री अमित शाहले पूर्व केन्द्रिय राज्य मन्त्री तथा कुचबिहारका पूर्व भाजपा सांसद निशीथ प्रमाणिकलाई व्यक्तिगत रूपमा फोन गरेर घटनाको जानकारी लिए। त्यसपछि गृह मन्त्रालयका अधिकारीले स्वयं शुभेन्दु अधिकारीसित बातचित गरे। अधिकारीले फोनमा भने, यदि उनले बुलेटप्रुफ वाहनमा यात्रा नगरेको भए उनको ज्यान जानसक्थ्यो। उनले मन्त्रालयप्रति आभार पनि व्यक्त गरे।
गृह मन्त्रालयले घटनामाथि चिन्ता व्यक्त गर्दै संकेत दिएको छ, आवश्यकता परे उनको सुरक्षालाई अझ सशक्त बनाइनेछ। भाजपा सूत्रानुसार विधानसभा चुनाउपूर्व यसप्रकारको लगातार हमला पार्टी नेतृत्वको लागि गम्भीर चिन्ताको विषय हो। गृह मन्त्रालयले यस मामिलामा राज्यका गृहसचिवसित रिपोर्ट मागेको छ।
घटनापछि शुभेन्दु अधिकारीले राज्यका मुख्य सचिव मनोज पन्त, गृह सचिव नन्दिनी चक्रवर्ती तथा पुलिस महानिदेशक राजीव कुमारलाई पत्र लेख्ने घोषणा गरेका छन्। पत्रमा उनले सुरक्षामा भएको चूकलाई उल्लेख गर्दै स्मरण गराइनेछन् कि उनको कुचबिहारको कार्यक्रम कलकत्ता उच्च अदालतको आदेश अन्तर्गत आयोजना गरिएको थियो।
बितेको मंगलवार कुचबिहार शहरमा भाजपाका 65 जना विधायकहरू सहित शुभेन्दु अधिकारीले जिल्ला पुलिस अधीक्षकको कार्यालयसम्म मार्च गरेर हालैमा भाजपा प्रतिनिधिहरूमाथि भएको हमलाको विरोधमा ज्ञापन सुम्पिने कार्य योजना थियो। अधिकारीको लावा-लस्कर खग्राबाड़ीमा पुग्नसाथ तृणमूल कार्यकर्ताहरूले सड़कमा आएर वाहनहरूलाई रोक्न थाले। पहिला कालो झण्डा देखाएर विरोध गरियो, त्यसपछि भीड़ हिंसक भयो र फलामको रड, बाँसको भाटा, ढुङ्गा, ईँटा आदिले अधिकारीको लक्सरमाथि हमला गरियो। सौभाग्यले बुलेटप्रुफ वाहनको कारणले शुभेन्दु अधिकारीलाई कुनै चोट लागेन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा