मालुटार चियाबारीमा आगलागी, एक घर जलेर खरानी
मालुटार चियाबारीमा आगलागी, एक घर जलेर खरानी


- तीनधारे महानदी समष्टिमा‌ अग्निशमन केन्द्रको पुनः उठ्यो माग

खरसाङ, 06 अगस्त (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा पर्ने मालुटार चियाबारीको दोकान डाँडामा आगलागीमा एक घर जलेर स्वाहा भएको छ। बुधवार बिहान 10 बजीतिर मालुटार चियाबारीको दोकानडाँडा निवासी देबेन्द्र सुब्बाको घर जलेर स्वाहा भएको छ।

प्राप्त जानकारी अनुसार, बिहान कमानमा काम गर्न गएको समय घरमा वृद्ध पिता मात्र भएको बेला घरबाट धुवाँ निस्केको देखियो। स्थानीय मानिसहरु गएर हेर्दा घरमा आगो लागिरहेको देखेपछि आगो निभाउने प्रयास गरे, तर सफल भएनन्।

देवेन्द्र सुब्बाको काठको दुई तल्ले घर आगलागीको कारण जलेर खरानी भएको छ। उनको घरको नजिकमा रहेको सीबीराज सुब्बाको घर र प्रनिल सुब्बाको दोकानलाई पनि क्षति पुगेको स्थानीय राजु सुब्बाले बताएका छन्। स्थानीयहरुको सहयोगमा आगोलाई फैलिनबाट रोकिएको बताइएको छ।

पीडित देबेन्द्र सुब्बाको घरबाट भने केही पनि निकाल्न नपाएको र घरमा भएका सबै सामानहरु जलेर नष्ट भएको छ। पछि, खरसाङ अग्निशमन केन्द्रबाट अग्निशमनको गाडी घटनास्थल आइपुगेको थियो, तर त्यस समयसम्म जलेर सबै स्वाहा भइसकेको थियो।

पीडित देबेन्द्र सुब्बाले आगो के कारणले लाग्यो भने विषयमा केही थाहा नभएको, तर आगलागीको कारण घर स्वाहा भएको र घरभित्रबाट केही निकाल्न नपाएको बताएका छन्‌।‌ आगलागीमा लुगाफाटा, सुन चाँदी, कागज पत्रहरु, सर सामानहरु सबै जलेको उनले बताएका छन्।

उनले घरभित्र भएका सरसामानहरू केही पनि निकाल्न नपाएको बताउॅंदै स्थानीय जनप्रतिनिधिहरु र स्थानीय सरकार समक्ष सहयोगको गुहार लगाएका छन्। उक्त घटनाको विषयमा जीटीए प्रमुख अनित थापालाई जानकारी गराइएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापाले बताएका छन्।‌

उनी अनुसार तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री र शिवखोला ग्राम पञ्चायतका पञ्चायत प्रधान मोहनकुमार प्रधान पनि घटनास्थलमा पुगेर निरीक्षण गरेर आवश्यक रुपमा सहयोग गर्ने साथै केही तत्कालीन सहयोग गरिएको छ। अग्नि पीडित देबेन्द्र सुब्बालाई तत्काल राहत स्वरुप शिवखोला ग्राम पञ्चायतको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ।

स्थानीय पञ्चायत सदस्यहरु बिक्की पाख्रीन र सृजना छेत्री पनि घटनास्थलमा उपस्थित रहेका थिए। अर्कातिर, यस घटनापछि फेरि तीनधारे महानदी समष्टि क्षेत्रमा अग्निशमन केन्द्रको स्थापनाको माग उठेको छ। मालुटार चियाबारी निवासी नरेश राईले मालुटार जस्तो दुर्गम क्षेत्रको नजिकतिर अग्निशमन केन्द्र नभएकोले यो दुर्घटना भएको बताए। उनले नजिकतिर अग्निशमन केन्द्र भएको भए समयमा‌ नै दमकल आएर आगोलाई नियन्त्रित गर्न सकिने थियो भनी बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande