गान्तोक, 06 अगस्त (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज केन्द्रिय कृषि तथा किसान कल्याण राज्यमन्त्री रामनाथ ठाकुरलाई भेटेर प्रधानमन्त्री फसल बीमा योजना (पीएमएफबीवाई) अन्तर्गत वन्यजन्तुबाट हुने बाली क्षतिलाई समावेश गर्न अनुरोध गर्दै औपचारिक ज्ञापन पेश गरे। उक्त जानकारी लोकसभा सांसदको कार्यालयले आज प्रेस विज्ञप्तिमा दिएको छ।
सांसद डा. सुब्बाले जङ्गली बँदेल, बाँदर र मृग जस्ता जंगली जनावरहरूले बारम्बार गर्ने हमलाका कारण सिक्किम जस्ता पहाडी र वन-नजिकैका क्षेत्रहरूमा किसानहरूले सामना गर्नुपरेको बाली क्षतिको निरन्तर समस्यालाई प्रकाश पारे। उनले पीएमएफबीवाईले विभिन्न प्राकृतिक प्रकोप र रोकथाम गर्न नसकिने जोखिमहरूको लागि कभरेज प्रदान गरे पनि जंगली जनावरबाट हुने क्षतिलाई सम्बोधन गरिॅंदैन, जसकारण प्रभावित किसानहरूले कुनै आर्थिक सुरक्षा पाउॅंदैनन् भनी बताए।
उनले बारम्बार आउने खतराले बालीनालीमा ठूलो क्षति मात्र पुर्याएको छैन, तर किसानहरूलाई निराश पनि बनाएको छ, जसले गर्दा केही क्षेत्रहरूमा खेतीपाती घटेको छ र कृषियोग्य जमिनको कम उपयोग भएको पनि केन्द्रिय राज्यमन्त्रीलाई जानकारी गराए। उनले मन्त्रालयलाई वन्यजन्तुको घुसपैठलाई पीएमएफबीवाई अन्तर्गत वैध जोखिमको रूपमा विचार गर्न आग्रह गरे। उनले यस्तो समावेशीकरणले किसानहरूको आय दोब्बर गर्ने र जोखिमपूर्ण क्षेत्रहरूमा दिगो कृषि सुनिश्चित गर्ने प्रधानमन्त्रीको दृष्टिकोणलाई अगाडि बढाउने क्रममा किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने बताए।
हिन्दुस्थान समाचार / बिशाल