खरसाङ, 09 अगस्त (हि.स.)। भारतको निर्वाचन आयोगमाथि विपक्षी नेता राहुल गान्धीले फर्जी मतदाता राखेको गम्भीर आरोप लगाएका छन्। यस्ता आरोपहरूको बावजुद आयोगले जनताको विश्वास जित्ने जवाफ दिन नसकेको र विभिन्न राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको खरसाङका भाजपा विधायक बीपी बजगाईंले बताएका छन्।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, 'मैले आफ्नो मतदान केन्द्रको डाटा जाँच्दा मतदाता सूचीमा मतदाताको फोटो नभएको र डाटा अप्टिकल्ली पढ्न नसकिने अवस्थामा रहेको पाएँ। डाटालाई टेक्स्ट फर्म्याटमा वेबसाइटमा राख्न सकिन्छ, जसले डाटा खोज्न र जाँच्न सुविधा प्रदान गर्छ। तर, पश्चिम बंगालको निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले डबल एन्ट्री वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको छ। एआईको युगमा यो आश्चर्यजनक र चिन्ताजनक छ।'
उनले यस्तो अवस्थामा यदि भारतको निर्वाचन आयोगले आफ्नो काममा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन भने देशको लोकतन्त्र संकटमा पर्ने निश्चित छ भनी बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक