गान्तोक, 09 अगस्त (हि.स.)। राजधानीको विकास क्षेत्रस्थित ब्रह्मकुमारी, शान्ति कुण्डमा आज रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई मुख्य अतिथिको रूपमा सहभागी बनिन्। कार्यक्रममा मन्त्रीहरू पिन्छो नामग्याल लेप्चा, एनबी दाहाल, छिरिङ टी भोटिया, विधायक दिले नामग्याल बर्फुङपा, उपमेयर छिरिङ पाल्देन भोटिया, विभिन्न विभागीय अध्यक्ष, सल्लाहकार एवं ओएसडीहरू पनि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कृष्णा कुमारी राईले रक्षा बन्धन पर्वको ऐतिहासिक महत्वबारे प्रकाश पारिन्। उनले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आध्यात्मिक गतिविधि र पहलहरूको बारेमा पनि जानकारी गराइन्।
यसरी नै मन्त्री एनबी दाहाल र ब्रह्मकुमारी सिक्किमकी प्रभारी सोनाम दिदीले रक्षा बन्धन पर्वको महत्वबारे प्रकाश पारेका थिए। यसपछि उपस्थित सबै अतिथिहरूलाई ब्रह्मकुमारी दिदी बहिनीहरूले रक्षा बन्धनको डोरी बाँधेर शुभकामना व्यक्त गरे। यस अवसरमा वृहत रक्तदान शिविरको आधिकारिक रूपमा शुभारम्भ पनि गरियो।
हिन्दुस्थान समाचार / बिशाल