खरसाङमा नेवार समुदायको क्वाँटी पूर्णिमा समारोह सांस्कृतिक झाँकीहरु र ऱ्यालीको साथमा सम्पन्न
खरसाङमा नेवार समुदायको क्वाँटी पूर्णिमा समारोह सांस्कृतिक झाँकीहरु र ऱ्यालीको साथमा सम्पन्न


खरसाङ, 09 अगस्त (हि.स.)। खरसाङमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको आयोजनामा नेवार जातिको पर्व क्वाँटी पूर्णिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुका‌ साथमा पालन गरिएको छ।‌ गत वर्षहरु झैं यसपाली पनि नेवार समुदायको महत्वपूर्ण चाढ क्वाँटी पूर्णिमा खरसाङमा लाखे नृत्यसितै विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा रैली निकालेर पालन गरियो।

यस अवसरमा खरसाङको भीमेश्वर मन्दिर परिसरबाट विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा ऱ्याली निकालेर धर्मशाला हुँदै मोटर स्ट्याण्ड र हिल कार्ट भएर खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा पुगेर विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा क्वाँटी पूर्णिमा कार्यक्रम आयोजना गरियो। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिका कार्यक्रम सभापति एवं शिक्षक प्रकाश प्रधानको अध्यक्षता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समितिका महासचिव अमर लामाको प्रमुख आतिथ्यमा सम्पन्न गरियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, रोगी कल्याण समितिको सभापति दिवस छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा नेवार समुदायको महत्वपूर्ण चाढ क्वाँटी पूर्णिमा विषयमा नेवार समुदायको गुबाजु अलंकारकुमार प्रधानले वक्तव्य राखेका थिए।

कार्यक्रममा शिक्षा र खेलको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने नेवार समुदायका व्यक्तिहरुलाई सम्मान जनाइयो। यस क्रममा पीएचडी गर्ने डा प्रज्वल प्रधान, बीडीएस गर्ने डा अमसुता प्रधान र डा नयनिका प्रधान, एमबीबीएस गर्ने डा प्रगति प्रधान साथै विभिन्न प्रतिस्पर्धात्मक खेलहरुमा बिजयी बनेका खेलाडीहरु बडीबिल्डिङमा‌ रिना प्रधान, जुनियर नेशनल ब्याडमिन्टन खेलाडी प्रियंका प्रधान, किक् बक्सिङमा कृतिमा प्रधान र रिवाज प्रधान, बक्सिङमा मयङ प्रधान र कराँतेमा सबीनकुमार प्रधानलाई सम्मानित गरियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अमर लामाले वक्तव्य राखेका थिए भने सभाध्यक्ष प्रकाश प्रधानले अध्यक्षीय सम्भाषण साथै धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिका सचिव सुवास प्रधानले अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिले लामो समयदेखि क्वाँटी पूर्णिमा समारोह आयोजना गर्दै आइरहेको बताए। उनले क्वाँटी पूर्णिमा पर्व नेवार समुदायको महत्वपूर्ण पर्व रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande