गान्तोक, 09 अगस्त (हि.स.)। वरिष्ठ महिला पत्रकार तथा साहित्यकार राधिका प्रधानद्वारा लिखित कथा-कविता सङ्ग्रह ‘परिस्थिति’-को लोकार्पण शनिवार गान्तोक, तादोङ एमपी गोलाइस्थित प्रेस क्लब अफ् सिक्किमको प्रेक्षागृहमा सम्पन्न भयो।
कार्यक्रममा प्रेस क्लबका अध्यक्ष भीम राउत, पूर्व अध्यक्ष शेखर खवास, वरिष्ठ पत्रकार निता निराश, हिमाली बेला दैनिककी सम्पादक माला राणा पात्रो सम्मिलित रूपमा मुख्य अतिथि रहेको कार्यक्रममा गान्तोकमा कार्यरत वरिष्ठदेखि कनिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो।
सन् १९४२ मा जन्मिएकी राधिका प्रधानले आफ्नो पेशाबाट आर्जन गरेको अनुभव र ज्ञान समाजलाई दिने उद्देश्यले यो साहित्यिक रचना समाजलाई अर्पण गरेको बताइन्। १९८०-को दशकदेखि नै पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएकी राधिका प्रधान सिक्किम दर्शन साप्ताहिक समाचार-पत्रकी सम्पादक तथा प्रकाशित रहेकी छन्।
सिक्किममा पत्रकारिताको शैशवकालदेखि नै योगदान दिँदै आएकी प्रधानले पत्रकारितासँगै साहित्य लेखनमा पनि योगदान पुर्याउँदै आएकी छन्। यसभन्दा अघि उनले चित्कार र गुलाब दिवस नामक पुस्तक पनि पाठकसमक्ष ल्याइसकेकी छन्।
यस अवसरमा उनले सिक्किमेली पत्रकारहरूको लामो समयदेखि थाँतीमा रहेका मागहरू पूरा गरेबापत सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई धन्यवाद दिएकी छन्। “यतिका वर्षसम्म सिक्किमेली पत्रकारहरूको स्थायी ठेगाना थिएन। मुख्यमन्त्रीले यो मागलाई तुरुन्त पूरा गरिदिए। यस्तै प्रकारले दीर्घलम्बित पेन्शनको मागलाई पनि मुख्यमन्त्रीले तुरुन्त पूरा गरिदिए। २० वर्षभन्दा लामो समय काम गरिसकेका अग्रज पत्रकारहरूलाई सम्मान जनाउने प्रथा मुख्यमन्त्रीले शुरु गरेका छन्।
'यससँगै अन्य मागहरूलाई पनि सिक्किम सरकारले पूरा गरेको छ। यसका लागि मेरो व्यक्तिगत तर्फबाट सिक्किम सरकार र मुख्यमन्त्री पीएस गोलेलाई आन्तरिक हृदयबाट धन्यवाद दिन्छु। यी सम्पूर्ण कामलाई पूरा गर्न योगदान पुर्याउने प्रेस क्लबका सम्पूर्ण कार्यकारिणी पदाधिकारीहरूलाई पनि धन्यवाद दिन्छु।”-उनले भनिन्।
यस अवसरमा उनले आफूले पत्रकारिता जीवनमा हासिल गरेका अनुभवहरूबारे पनि खुलेर कुरा राखिन्। उनले पुस्तक प्रकाशनका लागि आफूलाई साथ-सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले लेखक राधिका प्रधानलाई तेस्रो पुस्तकका निम्ति हार्दिक बधाई दिए। उनले आठ दशक उमेर पार गरेर पनि साहित्य रचनाप्रति प्रधानको उत्साह निश्चित रूपमा युवाहरूका लागि प्रेरणा स्रोत रहेको बताए।
यस्तै प्रकारले प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवासले लेखक राधिका प्रधानलाई हार्दिक बधाई दिँदै उनले सदैव पत्रकारहरूको हितमा सोच्ने गरेको बताए। पूर्व पत्रकार तथा शिक्षिका हेमलता गुरुङले सञ्चालन गरेको कार्यक्रममा सिक्किम दर्शन प्रकाशन परिवारको तर्फबाट वरिष्ठ पत्रकारहरूलाई पनि सम्मान जनाइयो।
हिन्दुस्थान समाचार / बिशाल