सोरेङ जिल्लामा ७९औँ स्वतन्त्रता दिवस समारोह तेस्रो दिनमा प्रवेश
सोरेङ जिल्लामा ७९औँ स्वतन्त्रता दिवस समारोह तेस्रो दिनमा प्रवेश


सोरेङ, 09 अगस्त (हि.स.)। ७९औँ स्वतन्त्रता दिवसको जिल्ला स्तरको कार्यक्रम आज तेस्रो दिनमा प्रवेश गर्दै सोरेङ जिल्लाको जौउटार रङ्गशालामा विभिन्न सांस्कृतिक प्रस्तुति र खेलकुद कार्यक्रमहरूका साथ सम्पन्न भयो। कार्यक्रममा रिन्चेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चा मुख्य अतिथि थिए। उनको साथमा शिक्षा विभागका विशेष कर्तव्य अधिकारी (ओएसडी) सोनाम पाल्जोर भोटिया र सडक एवम् पुल विभागका ओएसडी धनपति शर्मा विशिष्ट अतिथि थिए। उक्त जानकारी आज जिल्ला सूचना अधिकारी, सोरेङले दिएका छन्।

कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले सबैलाई ७९औँ स्वतन्त्रता दिवसको अवसरमा हार्दिक शुभ कामना दिॅंदै सफलतापूर्वक कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिप्रति धन्यवाद व्यक्त गरे। उनले सोरेङ एक महत्वाकाङ्क्षी जिल्ला भएकोले विभिन्न क्षेत्रमा समग्र विकासका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दृष्टिकोण अनुसार यो वर्षदेखि हरेक वर्ष 10 अगस्त लाई “आमा सम्मान दिवस” का रूपमा मनाइने भएको जानकारी गराउॅंदै यस ऐतिहासिक अवसरलाई भव्य अनि सभ्य रूपमा सफल बनाउन सबैलाई सहभागी हुन आग्रह गरे।

आज दुईवटा अन्तर विद्यालय फुटबल खेल पनि सम्पन्न भयो। पहिलो खेलमा मङ्गलबारे माध्यमिक विद्यालयले रुम्बुक माध्यमिक विद्यालयलाई पराजित गऱ्यो। दोस्रो खेलमा पीएम श्री सोरेङ माध्यमिक विद्यालयले गेलिङ्ग माध्यमिक विद्यालयलाई पराजित गऱ्यो। मङ्गलबारे महाविद्यालयका गोलकिपर उदय मङ्गर र सोरेङ महाविद्यालयका खेलाडी आकास गुरुङ म्यान अफ् द म्याच घोषित भए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande