गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार बिहान सुरक्षा अनुसन्धानकर्ता एवं एथिकल ह्याकर रिवेकराज तामाङसॅंग आधिकारिक आवासमा भेट गरे। उनी हालै नेशनल एयरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) बाट दुईवटा मान्यता पत्रले सम्मानित भएका छन्।
मुख्यमन्त्रीले रिवेकराज तामाङलाई यस उल्लेखनीय उपलब्धीको लागि हार्दिक बधाई दिॅंदै यसले एक स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ताको रूपमा उनको असाधारण सीप र अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी सामाजिक सञ्जाल फेसबुक पोस्टमा उल्लेख गरेका छन्। मुख्यमन्त्रीले नासाको भेद्यता प्रकटीकरण नीति (वीडीपी) अन्तर्गत महत्वपूर्ण कमजोरीहरूको जिम्मेवारीपूर्ण खुलासा हाम्रो राज्य सिक्किमको लागि गर्वको कुरा हो भनी बताएका छन्।
मुख्यमन्त्रीले अन्तरक्रियाको उनको नम्रता, समर्पण र स्पष्टताबाट गहिरो प्रभावित बनेको बताउॅंदै उनको उपलब्धि व्यक्तिगत प्रतिभाको एक चम्किलो उदाहरण रहेको बताएका छन्। उनको उपलब्धी विज्ञान, प्रविधि र नवाचारमा उत्कृष्ट हुन चाहने सिक्किमका अनगिन्ती युवा मस्तिष्कहरूका लागि प्रेरणाको स्रोत बन्ने उनले जनाएका छन्।
मुख्यमन्त्रीले उनका सबै प्रयासहरूमा निरन्तर सफलताको कामना गर्दै उनको प्रतिभा र दृढताले उनलाई विश्वव्यापी क्षेत्रमा अझ उच्च उचाइमा पुग्न सक्षम बनाउनेछ भनी विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल