कोलकाता, 22 सेप्टम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउ- 2026 पूर्व भारतीय जनता पार्टी (भाजपा)-ले राज्यभरि नै संगठनलाई सुदृढ़ बनाउने ठूलो रणनीति अन्तर्गत कार्य शुरू गरेको छ। पार्टीले सबै 294 वटा विधानसभा क्षेत्रहरूमा ‘विस्तारक’ (पूर्णकालिक कार्यकर्ता) नियुक्त गर्ने प्रक्रियालाई तीव्रता दिरहेको छ।
प्रदेश भाजपा नेताहरू अनुसार यो प्रक्रियालाई यसै महिनाको अन्तसम्ममा पूर्ण गरिनेछ। शुरूआती प्रशिक्षण पश्चात विस्तारकहरूलाई आ-आफ्नो क्षेत्रमा खटाइने छ। धरातलीय स्तरमा राजनीतिक तथा सामाजिक परिस्थिति बारे जानकारी जुटाउनु उनीहरूको काम हुनेछ। यसै रिपोर्टको आधारमा पार्टीले राज्यमा चुनाउ तथा प्रचारको रणनीति तय गर्नेछ।
भाजपा राज्य समितिका एक जना सदस्यले बताए, प्रारम्भिक सूचीमा लगभग 5 सय जनाको नाम सामेल गरिएको छ जसमध्येबाट 294 वटा विधानसभा क्षेत्रको लागि अन्तिम चयन गरिनेछ। यसमा कतिजना यस्ता मानिसहरू पनि छन् जसले पहिला पनि विस्तारकको रूपमा काम गरिसकेका छन् भने कतिजना नयाँ अनुहारहरू छन्।
यसबाहेक पार्टीले विस्तारकहरूको लागि योग्यता पनि तय गरेको छ। चयनित कार्यकर्ता सम्बन्धित विधानसभा क्षेत्रको मतदाता हुन आवश्यक छ। साथै उसलाई त्यस क्षेत्रको सामाजिक, भौगोलिक एवं राजनीतिक स्थितिको गहिरो ज्ञान हुनुपर्छ। जाति र धर्म आधारित जनसंख्याको ज्ञान हुन पनि अनिवार्य मानिएको छ। स्नातक युवा तथा पार्टीको इतिहास बारे जानकारी राख्नेहरूलाई प्राथमिकता दिइनेछ। जसले पहिलाबाटै विस्तारकको भूमिका निर्वाह गरिसकेका छन्, राम्रो रेकर्ड छ भने पनि प्राथमिकता दिइनेछ।
प्रदेश भाजपा उपाध्यक्ष रथिन्द्रनाथ बोसले भने, पहिला पनि चुनाउपूर्व विस्तारक नियुक्त गरिँदै आएको छ। तर यसपालि प्रक्रिया अधिक विस्तृत छ। त्यसैले काम चाँड़ै शुरू गरिनेछ। उनले बताए, पार्टीका केन्द्रिय नेतृत्वहरू पनि यसपालि विस्तारकको भूमिकालाई अधिकतम प्रयोग गर्न चाहन्छन्। त्यसैले चयन प्रक्रियामाथि विशेष बल दिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा