भारतीय गुणवत्ता परिषदका प्रतिनिधिले गरे नाम्ची जिल्ला पशु चिकित्सा पोलिक्लिनिकको भ्रमण
भारतीय गुणवत्ता परिषदका प्रतिनिधिले गरे नाम्ची जिल्ला पशु चिकित्सा पोलिक्लिनिकको भ्रमण


नाम्ची, 25 सेप्टेम्बर (हि.स.)। भारतीय गुणवत्ता परिषद् (क्यूसीआई) का प्रतिनिधि डा. सुभाष चन्दरले बुधवार नाम्चीस्थित जिल्ला पशु चिकित्सा पोलिक्लिनिकको भ्रमण गरे। डा. चन्दरलाई पशुपालन एवं दुग्ध विभागले केन्द्रिय क्षेत्र योजना- पशुधन स्वास्थ्य र रोग नियन्त्रण कार्यक्रम (एलएचडीसीपी) को कार्यान्वयनको मूल्याङ्कन गर्न नियुक्त गरेको पशु चिकित्सा एवं पशुपालन विभागले आज विज्ञप्तिमा बताएको छ।

भ्रमणको मुख्य उद्देश्य सरोकारवालाहरू, विशेष गरी किसानहरूमा एलएचडीसीपीको प्रभावको मूल्याङ्कन गर्नु र योजना अन्तर्गत पशु चिकित्सा स्वास्थ्य सेवाहरूको गुणस्तर र प्रभावकारिताको समीक्षा गर्नु थियो। भ्रमणको क्रममा डा. चन्दरले पूर्वाधार र सुविधाहरू, खोप कार्यक्रम, कार्यबल र तैनाती, कृषकहरूका लागि प्रशिक्षण एवं जागरूकता कार्यक्रम, चुनौतीहरू आदि विषय जानकारी लिए।

पोलिक्लिनिककी अधीक्षक डा. प्रेरणा गुरुङ, डा. एकता प्रधान, डा. अस्तुति राई र डा. कर्मकित लेप्चाले सबै प्रश्नहरूलाई सम्बोधित गरेका थिए। यस क्रममा डा. चन्दरलाई विभिन्न दस्तावेजहरू पनि साझा गरिएको थियो।

डा. चन्दरको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र नाम्ची जिल्लामा एलएचडीसीपी कार्यान्वयनको प्रगति, उपलब्धि र चुनौतीहरू प्रस्तुत गर्न एक बहुमूल्य मञ्च प्रदान गरेको बताइएको छ। भ्रमणको क्रममा गरिएका छलफल र निरीक्षणहरूले डीएएचडीद्वारा योजनाको व्यापक मूल्याङ्कनमा योगदान पुर्‍याउने विभागले विश्वास व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande