खरसाङ, 27 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङमा विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो। यसै अवसरमा युनाइटेड सिटोङ होम स्टे वेलफेयर सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न भई नयाँ कार्य समिति गठन गरिएको छ। सबै सदस्यहरूको निर्णय अनुसार पुरानो समितिलाई पुनः निरन्तरता दिइएको छ।
गठित नयाँ समितिमा अध्यक्ष विक्रम राई, उपाध्यक्ष सन्ध्या राई, युवराज ठकुरी, सचिव प्रणय राई, सह–सचिव आनन्द मुखिया, संयुक्त सचिव राहुल बुढाथोकी, कोषाध्यक्ष उत्तरा खवास चयन भएका छन्। यस कार्यक्रमको सञ्चालन संस्थाका प्रतिनिधि दुई भूपाल थापा र प्रेमकुमार राईले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिटोङ एक ग्राम पञ्चायतका पञ्चायत प्रधान सुशील सुब्बा रहेका थिए। कार्यक्रममा सिटोङका गायक प्रणय राईले गीत प्रस्तुत गरेका थिए भने पूर्ण गुरुङले मादल गीत प्रस्तुत गरे। यसको साथै लेप्चा नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरियो।
समितिले विश्व पर्यटन दिवसको अवसरमा केक काटेर उत्सव मनायो। विश्व पर्यटन दिवस सिटोङ एक डायरी गाउँ गोलघरमा संस्थाको अध्यक्ष बिक्रम राईको अध्यक्षता सम्पन्न भएको थियो।
---------------
हिन्दुस्थान समाचार / हनोक