खरसाङ, 07 सेप्टेम्बर (हि.स.)। हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा आज सभा सम्पन्न भयो। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भइरहेको द्वारे सरकारको माध्यमबाट 'हाम्रो गाउँ हाम्रो समाधान' परियोजना लिएर खरसाङ नगरपालिका अन्तर्गत एकदेखि बीस नम्बरसम्म सम्पूर्ण वार्डमा यस परियोजनाको विषयको जानकारी दिन उक्त सभा आयोजन गरियो।
प्रत्येक वार्डमा एकभन्दा अधिक भेग, गाँउ भएकाले कुनै प्रकारको विवाद सृजना नहोस् भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीका सभापति राजु शर्मा, मूल सचिव बीरबल पाख्रीन र सभासद श्याम शेर्पाकाे उपस्थितिमा वार्ड नम्बर एककाे सेक्शन पाखास्थित समिति भवनमा सभा सम्पन्न भयो। सभामा आगामी 13 सेप्टेम्बरको दिन डीएफओ अफिसमा सम्पन्न हुने हाम्रो गाउँ हाम्रो समाधानको निम्ति चर्चा परिचर्चा गरियो।
सभामा सम्बाेधन राख्ने क्रममा सभासद श्याम शेर्पा, टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव मैत्रसेन शर्मा, कार्यकारीणी सदस्य बिशन तामाङले परियोजना सम्बन्धि जानकारी दिएका थिए। सभाध्यक्ष राजु शर्माले पनि आफ्नो अध्यक्षीय सम्भाषण राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक