भारतीय मानवाधिकार एसोसिएशनद्वारा एसआईआर दस्तावेजमाथि जनचेतना कार्यक्रम सम्पन्न
भारतीय मानवाधिकार एसोसिएशनद्वारा एसआईआर दस्तावेजमाथि जनचेतना कार्यक्रम सम्पन्न


खरसाङ, 07 सेप्टेम्बर (हि.स.)। भारतीय मानवाधिकार एसोसिएशनले आइतवार खरसाङको गिद्ध पहाडस्थित डीआरसी सामूहिक भवनमा एसआईआर दस्तावेज विषयमाथि एक जानकारीमूलक कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा अप्पर सिरुवारी, तामाङ संस्था, समाज सेवा समिति अनि अग्रिम वेलफेयर सोसाइटीका सदस्यहरु उपस्थित थिए।

कार्यक्रमका मुख्य अतिथि भारतीय मानवाधिकार एसोसिएशनका राष्ट्रिय विधिक सचिव राहगीर फजलले भने, 'हामी संविधानका रक्षक हौँ। संविधानले दिएको मानिसको जन्मदेखि मृत्युसम्मको हक अनि अधिकार दिलाउन कार्यरत छौं। भारतीय मानवाधिकार एसोसिएशनको उद्देश्य उत्पीडनमुक्त भारत बनाउनु हो। अधिकारको जानकारी दिने काम हाम्रो हो भने आफ्नो अधिकार खोज्ने कर्तव्य तपाईहरूको हो। हामी कसैको अधिकार हनन् गर्दैनौं।

फजलले एसआईआर दस्तावेजमाथि बोल्दै भने, 'भोटर कार्डको दुरूपयोग पनि हुँदैछ। त्यस कारण पनि एसआईआर लागू गरिएको भन्छन्। यदि कसैकाे जन्म प्रमाण पत्र, माध्यमिक परीक्षाको सर्टिफिकेट छैन भने कानूनी तरिकाले बनाउनु सकिन्छ। त्यसैले डराउने काम नै छैन।'

उनले थप भने, 'हामीले हाम्रो नागरिकताको प्रमाण दिनु पर्ने कुनै आवश्यकता छैन। संविधानले हामीलाई नागरिकताको हक दिएको छ। तर त्यसको निम्ति हामीले प्रमाण पत्र प्रस्तुत गर्नुपर्छ। हामी यस मुद्दामा केन्द्रिय स्तरमा कार्य गरिरहेका छौ।'

एसोसिएशनकी राज्य मिडिया प्रभारी ज्योति मुखियाले भनिन्, 'कुनै पनि देशको नागरिकको भोट दिने अधिकार, देशको संविधानले दिएको हक अनि अधिकार हो। एसआईआरमार्फत देशका खाँटी नागरिकलाई मात्र मतदाता सूचीमा गाभिने यो शुद्धीकरणको अभियान सराहनीय छ। तर पहाडका अधिकांश नागरिकहरुमा दस्तावेज विषय राम्रो जानकारी पनि छैन साथै दस्तावेज आफूसँग सुरक्षित पनि छैन। त्यसैले उहाँहरू मतदाताको सुचिमा नपर्नु सक्ने धेरै सम्भावना छ। उहाँहरू किनारीकृत नबनुन् भनेर नै आज एसआईआरमा चाहिने दस्तावेज साथै अन्य दस्तावेजमाथि जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको हो।'

कार्यक्रममा राजकुमार सिंहले भने, 'वर्तमान सरकारले दस्तावेजहरु जस्तै जन्म मृत्यु पत्र, घरको कागजहरुको डिजिटलाइजेशन गर्न थालेको छ। त्यो अन्योलता मेटाउनु पनि आजको जनचेतना कार्यक्रम राखिएको हो।

घैयाबारी 1 का उप प्रधान आशिष छेत्रीले भने, 'एसआईआर-लाई हामीले भोलिको दिन सामना गर्नु नै पर्छ। हाम्रो मान्छेकोमा आफ्नै जग्गा जमीनको दस्तावेजको पनि समस्या छ। दस्तावेज बनाउनु धेरै कठिन छ। पञ्चायतले दस्तावेज बनाउनु सहयोग गरिरहेको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande