खरसाङ, 07 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय नेवार संगठनले गत वर्ष झैं यस वर्ष पनि पश्चिम बंगाल राज्यमा प्रथम इन्द्रजात्रा महोत्सव बीरपाडा स्कूल खेल मैदानमा भव्य एवं सव्य रूपमा आयोजन गऱ्यो। उक्त कार्यक्रममा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिका प्रतिनिधिहरु पनि सहभागी बने।
उक्त तीन दिने कार्यक्रमको अन्तिम दिन पूजा अर्चनापछि इन्द्रजात्राको रथ व्यापक रूपमा नेवार समुदायको सहभागितामा निकालियो। इन्द्रजात्राले बीरपाडा शहर परिक्रमा गरेपछि स्कूल खेल मैदानमा नेवारी सांस्कृतिक साथै सम्मान कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमको मुख्य अथिति रूपमा अखिल भारतीय नेवार संगठनको केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधान रहेका थिए।
कार्यक्रममा नेवार सांस्कृतिक लाखे नृत्य, कुमारी रथ यात्रा लगायत अन्य परम्परागत नेवारी कार्यक्रमहरु आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल, दार्जिलिङ क्षेत्रबाट आएका नेवार जातिका विज्ञ, इतिहासकार, प्रतिनिधिहरु उपस्थित रहेका थिए। कार्यक्रममा काठमाडौँबाट आएका विज्ञ डा विधु प्रकाश कायस्थलले इन्द्रजात्रा, नेवार समुदायको महत्वपूर्ण पर्व रहेको बताउँदै नेवार भाषामा यसको शाब्दिक अर्थ बताएका थिए।
यस कार्यक्रममा खरसाङ आञ्चलिक समितिका सचिव सुवास प्रधान लगायत अन्य प्रतिनिधिहरु पनि उपस्थित रहेको जानकारी गणेश प्रधानले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक