पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने


गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। उत्तर सिक्किमका विभिन्न रमणीय पर्यटन गन्तव्यहरू पर्यटकहरूलाई लागि पुन: खोलिने भएको छ। गत मई महिनाको अन्ततिर प्राकृतिक प्रकोपका कारण सडक मार्गहरू अवरुद्ध भएपछि पर्यटकहरूको प्रवेशमा रोक लगाइएको थियो। अब भोलि (सोमवार) देखि पर्यटकहरू पुन: उत्तर सिक्किमको भ्रमणमा जान सक्नेछन्।

राज्य पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने जानकारी गराउॅंदै अनलाइन परमिट जारी गरिएको आज पत्रकार सम्मेलनमा बताए। उनले पर्यटकहरू उत्तर सिक्किमका लाचुङ, युमथाङ भ्याली र जिरो पोइन्ट घुम्न सक्ने बताए। उनले लाचेन अर्को पर्यटन मौसममा पर्यटकहरूलाई लागि खुला गरिने बताए।

अतिरिक्त मुख्य सचिव रावले जङ्गु क्षेत्रसॅंग सम्पर्क पुनर्स्थापित गर्न बीआरओको समन्वयमा साङ्कलाङ पुल उद्घाटन गरिएको बताए। उत्तर सिक्किम जाने क्रममा पर्यटकहरूले साङ्कलाङ पुल चेकपोस्ट दिउॅंसो 1 बजीसम्ममा पार गर्नु पर्नेछ भने फर्किने क्रममा दिउॅंसो 2 बजीसम्ममा टूङ पुल पार गर्नुपर्ने पनि उनले अवगत गराए। पर्यटकहरूले अनलाइन, मङ्गन अथवा चुङथाङ एसडीएम कार्यालयबाट पनि परर्मिट प्राप्त गर्न सक्ने उनले थप जानकारी गराए।

यस अतिरिक्त, रावले देशका रक्षामन्त्री राजनाथ सिंहले 15 जनवरी, 2025 मा युद्धभूमि पर्यटनको घोषणा गरेको र यस पहल अन्तर्गत सिक्किममा तीन गन्तव्यहरू नाथुला, चोला र डोकलाम पनि समावेश रहेको जानकारी गराए। उनले आगामी 27 सेप्टेम्बरदेखि घरेलु पर्यटकहरूका लागि चोला र डोकलाम खोल्ने निर्णय गरिएको बताए भने शुरूमा प्रति दिन 25 सवारी साधनहरूलाई अनुमति दिइने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande