गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। राजधानीको चुकलाखाङमा आज पवित्र पाङ ल्हाबसोल पर्व धार्मिक अनुष्ठान र परम्परागत रीतिरिवाजहरूका साथ हर्षोल्लासपूर्वक मनाइयो। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत राजपरिवार, सम्मानित टुल्कूहरू, खेन्पोहरू, मोनास्टिक सङ्घका सदस्यहरू तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति थियो।
समारोहमा उपस्थित धर्मावलम्बीहरूले सिक्किमको संरक्षक देवता माउण्ट कञ्चनजङ्घाप्रति नमन गर्दै शान्ति, सद्भाव र एकताको भावनालाई कायम राख्न प्रार्थना गरे। समारोहमा चुकलाखाङ ट्रस्टले राज्य धर्म विभाग र सम्बन्धित संगठनहरूको संयुक्त तत्वावधानमा आध्यात्मिक एवं सांस्कृतिक प्रस्तुति प्रस्तुत गरियो।
मुख्यमन्त्री तामाङले पवित्र र आध्यात्मिक अनुष्ठानमा भाग लिने अवसर पाएकोमा हार्दिक आभार व्यक्त गरेका छन्। उनले यो आध्यात्मिक रूपमा समृद्ध अनुभवको हिस्सा हुन पाउनु र हाम्रो परम्परालाई यति इमानदारीपूर्वक सम्मान गरिएको गहिराइको साक्षी हुनु साँच्चै सौभाग्यको कुरा थियो भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले चुकलाखाङ ट्रस्तप्रति निमन्त्रणा र न्यानो आतिथ्यका लागि धन्यवाद दिॅंदै यसले कार्यक्रमलाई उपस्थित सबैका लागि अविस्मरणीय र अर्थपूर्ण अनुभव बनाएको बताएका छन्। यस अवसरमा प्रतिष्ठित प्याङ्तोड छाम (योद्धा नृत्य) पनि प्रस्तुत गरिएको थियो, जुन समारोहको आकर्षणको केन्द्र बनेको थियो।
हिन्दुस्थान समाचार / बिशाल